Banijya News

नाडाको विशेष साधारण सभा रोक्न जिल्ला प्रशासन कार्यालयको निर्देशन

1.1K Shares

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बोलाएको साधारण सभा रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । सभा गर्न लागिएको कारणसहित आवश्यक कागजात लिएर ७ दिनभित्र कार्यालयमा उपस्थित हुन नाडालाई भनिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत जनक कोइरालाका अनुसार नाडाले बोलाएको विशेष साधारण सभा गैरकानूनी भएको भन्दै कार्यालयमा निवेदन परेको थियो । विधान संशोधनबारे पटक पटक छलफल भए पनि उक्त विवाद समाधान हुन सकेको छैन । यस्तो अवस्थामा साधारण सभा बोलाउनुको कारण लिएर कार्यालयमा आउनु निर्देशन दिइएको छ ।

नाडालाई लेखिएको पत्रका भनिएको छ, ‘गैरकानुनी तरिकाले बोलाउन लागिएको विशेष साधारण सभा रोकी पाउँ भनी यस कार्यालयमा भदौ १६ गते निवेदन दर्ता भएकोले विधान बमोजिम साधारण सभा नबोलाएर के कति कारणले विशेष साधारण सभा गर्न लागिएको हो ? जिल्ला प्रशासन कार्यालयमा पटक-पटक विधान संशोधनको विषयमा छलफल भए पनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो ? विशेष साधारण सभा बोलाउनको लागि गरिएका निर्णयहरू सहित ७ दिन भित्र जिल्ला प्रशासनमा उपस्थित हुन र साधारण सभा स्थगित गर्नुहुन अनुरोध छ ।’

नाडाको २१ औँ केन्द्रीय कार्यसमितिको बैठकले नाडालाई विधानतः महासङ्घमा लैजाने निर्णय गरेको छ । उक्त निर्णयको प्रस्ताव पारित गर्न यही भदौ २४ गते विशेष साधारण सभा बोलाइएको थियो । प्रशासनको पत्रपछि डाँकिएको साधारण सभा अन्योल बनेको छ ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीका अनुसार विशेष साधारण सभा भदौ २४ गते मङ्गलवार ललितपुरको झम्सिखेलमा रहेको ‘द प्लाजा’मा आयोजना हुने तयारी थियो ।


Scroll to Top