काठमाडौं ।
आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसहितको नेपालको संविधान २०७२ जारी भएको थियो ।
यसै अवसरमा शनिबार विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ । सरकारले संविधान दिवसका अवसरमा शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाउने निर्णय गरेको हो । संविधान दिवस मूल समारोह समितिको आयोजानमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने तयारी रहेको छ । दिवसका अवसरमा अहिले बिहान ९ः५० बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेश सल्लाहकार सुर्य थापाले जनाएका छन् ।
उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिहरु र विभिन्न राजनीतिक दलका नेता र सुरक्षा निकायका प्रमुखहरु सहभागी हुदैछन् । त्यस्तै संविधान दिवसका अवसरमा सहरका विभिन्न स्थानमा शुभकामना सन्देश दिन डिस्प्ले राखिएका छन् । सो अवसरमा सबै नागरिकलाई घरघरमा नेपालको झन्डा फहराउन सरकारले अनुरोध गरेको छ । संविधान दिवसका अवसरमा राष्ट्पति विद्यादेवी भण्डारीले नेपालीहरुलाई बधाई तथा शुभकामना सन्देश जारी गर्दै संविधानको मर्र्म र भावना व्यवहारमा कार्यन्वयन गर्न जोड दिएकी छन् ।
राष्ट्पति भण्डारीले आफ्नो शुभकामना सन्देशमा वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको जनाएकी छन् ।