Banijya News

चार महिनापछि भारतले हटायो प्याज निकासी प्रतिबन्ध

4 Shares

पुस १४, काठमाडौं ।
भारतले करिब चार महिनापछि प्याज निकासीमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले पुस १७ गते शुक्रबार अर्थात जनवरी १ बाट लागू हुने गरी प्याज निकासीमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालले सोमबार एक सुचना जारी गर्दै १ जनवरी २०२१ (शुक्रबार) देखि लागू हुने गरी सबै जातका प्याजको निकासीमा यसअघि लगाइएका प्रतिबन्ध हटाइएको जानकारी दिएको हो । आन्तरिक उत्पादन कम गएका कारण मूल्य अकासिँदै गएपछि भारतले गत २९ भदौ गते प्याजको विदेश निर्यातमा रोक लगाएको थियो । नेपालमा भारतबाट मात्र वार्षिक ३ अर्बभन्दा बढीको प्याज आयात हुँदै आएको छ । भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएलगत्तै नेपाली बजारमा प्याजको मूल्य प्रतिकेजी १ सय ५० रूपैयाँभन्दा धेरै पुगेको थियो ।

यस वर्षको अत्यधिक बर्खाका कारण कनार्टकमा प्याजको खेतीमा असर परेको र पछिल्ला केही महिना चर्को माग भएका कारण विदेशतर्फ अत्यधिक निर्यात भएका कारणहरूले प्याजको भाउ बढ्दै गएको थियो । भाउ बढ्दै गएर महाराष्ट्रको थोक बजारमै प्याजको मूल्य तीन गुणाले बढेर प्रतिकेजी भारु ३० पुगेपछि भचारत सरकारले निर्यात रोक लगाउने निर्णय गरेको थियो । भारत विश्वका सबैभन्दा धेरै प्याज निर्यातक मुलुकमध्ये नेदरल्यान्ड र चीनपछि तेस्रो नम्बरमा आउँछ । नेपालमा प्याज उत्पादन साह्रै न्यून हुने हुदा भारतमा हुने प्याजको मूल्यमा उतारचढाव तथा माग र आपूर्तिबीचमा आउने अवरोधको नेपालमा समेत पर्ने गर्दछ ।

Scroll to Top