Banijya News

उखु कृषकको बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगी मनोज अग्रवाल प्रहरी नियन्त्रणमा

4 Shares

काठमाडौंः
उखु कृषकको बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगी पक्राउन परेका छन् । उखु किसानलाई भुक्तानी नदिएको अभियोगमा संचालक मनोज अग्रवाललाई नियन्त्रणमा लिएको छ । उनी किसानको बक्र्योता रकम नतिर्ने लुम्बिनी चिनी मिलका संचालक हुन् । अग्रवाललाई महानगरीय अपराध महाशाखाको टोलीले पर्सा प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको हो ।


१७ करोड रुपैयाँ उखु किसानलाई भुक्तानी गर्न बाँकी रहेको प्रारम्भीक रुपमा देखिएको छ । गृह मन्त्रालयले समयमा नै उखु किसानको रकम भुक्तानी नगर्ने चिनी मिल संचालकलाई कारबाही गर्न निर्देशन दिएको छ । लामो समयदेखि उखु किसानको बक्यौता भुुक्तानी नगर्ने चिनी उद्योगीलाई कानुनी कारबाही गर्न गृह मन्त्रालयले जिल्ला प्रशासनलाई पत्राचार गरेको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार बसेको बैठकको निर्णयअनुसार चिनी उद्योगीलाई कानुनी कारबाही गर्न गृह मन्त्रालयले जिल्ला प्रशासनलाई पत्राचार गरेको हो ।

लामो समयदेखि चिनी उद्योगीले किसानको बक्यौता भुक्तानी नगर्दा किसान आन्दोलनमा उत्रिएपछि कृषि, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र गृहमन्त्रीबीच गृह मन्त्रालयमा बैठक भएको थियो । तीन मन्त्रालयका मन्त्रीहरूबीचको छलफल पछि किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगीलाई कारबाही गर्ने निर्णय भएपछि सर्लाही, नवलपरासी र रौतहटका जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी पठाएको थियो ।


प्रहरी स्रोतका अनुसार पक्राउ परेका उनलाई अव उखु कृषकको रकम भुक्तानी गरिसकेपछि मात्र छाडिने भएको छ । चिनी उद्योगीले किसानलाई पटक पटक सहमति गरी झुलाउने काम गरेको हुँदा अब कारबाही गरेर नै किसानको बक्यौता भुक्तानी गर्न लगाउने तयारी भएको छ । स्रोतका अनुसार पटक पटक दिन्छु दिन्छु भन्दै उद्योगीले किसानलाई धेरै पटक झुलाइसकेकाले गर्दा अव उद्योगीको बहानाबाजी नचल्ने गरी कारवाहीको तयारी भएको हो ।


सरकारले श्रीराम सुगर मिल रौतहट, अन्नपूर्ण सुगर मिल सर्लाही, इन्दिरा सुगर मिल नवलपरासी र लुम्बिनी चिनी उद्योग नवलपरासीका सञ्चालकलाई कारबाही गर्न यस अगाडि नै पत्र लेखी पठाएको छ । उद्योगीले किसानको करिब ७० करोडभन्दा बढी बक्यौता भुक्तानी गर्न बाँकी रहेको छ ।

Scroll to Top