गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १० गते ११ औँ वार्षिक साधारणसभा डोकेको छ। सभा काठमाण्डौको तीनकुनेस्थित राज भवनमा रहेको कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यमबाट बिहान ११ बजेबाट हुनेछ। कम्पनी सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
सभाले आर्थिक वर्ष २०७५ । ७६ का लागि प्रस्तावित कुल ५.७९ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ५.५ प्रतिशत बोनस सेयर र बाँकी ०.२९ प्रतिशत नगद लाभांश रहेका छन्। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही कात्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ कात्तिक २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।