गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको आजसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम आएको छ । निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आज आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।
पौडेलका अनुसार हालसम्म प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाध्यक्षमा ५ हजार ६५९, महिला सदस्यमा ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ५५६ र वडा सदस्यमा ११ हजार २९५ गरी कूल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भइसकेका छन् । कुल ३५ हजार २२१ मध्ये अहिलेसम्म आएको परिणाम ८० प्रतिशत रहेको छ ।
देशभरका ७५३ पालिकामध्ये दाङको तुल्सीपुर उपमहानगरपालिका वडा १७ र कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाबाहेक देशभरका सबै मतदान केन्द्रमा मतदान कार्य सञ्चालन भएको प्रवक्ता पौडेलले बताए । स्थगन भएका स्थानमध्ये ५ स्थानमा जेठ १ गते, ७ स्थानमा जेठ २ गते, ८ स्थानमा जेठ ३ गते र १५ स्थानमा जेठ ४ गते मतदान हुने छ ।
यसैगरी अछामको साँफेबगरमा जेठ ६ गते पुनः मतदान हुने कार्यक्रम रहेको छ । भने उदयपुरको त्रियुगा नगरपालिका वडा १२ र बाजुराको बुढीगंगा नगरपालिकाको सम्बन्धमा आयोगबाट निर्णय हुन बाँकी रहेको छ ।