Banijya News

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान हुँदै

4 Shares

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमितरूपमा रात्रिकालीन उडान सुरु हुने भएको छ । विमानस्थलमा उपकरणका आधारमा विमान उडान÷अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु गर्न लागेको हो । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटन गर्दे आन्तरिक उडान थालिएपनि रात्री कालिन उडान भएको थिएन् । पोखराको पुरानो विमानस्थलमा आइएफआर प्रणाली नहुँदा यसअघि रात्रिकालीन उडान हुनसकेको थिएन । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै रात्रिकालीन उडानको ढोका खुलेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ११ गतेदेखि आइएफआर प्रणाली लागू भएको हो । हाल विमानस्थलबाट बिहान ६ः०० बजेदेखि साँझ ४ः०० बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकामा अब आवश्यकताका आधारमा रातिको १२ः०० बजेसम्म उडान गर्न सकिने भएको छ ।

बिहीबार साँझ पोखराका लागि काठमाडौँ, भैरहवा, नेपालगञ्ज र झापाको भद्रपुरबाट बुद्धका चारवटा जहाज रात्रिकालीन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलले जनाएको छ । हालसम्म बुद्धबाहेकका अन्य कम्पनीले भने रात्रिकालीन उडानको तालिका पेस गरेका छैनन् ।

यसअघि यही फागुन १८ गते सौर्य एयरलाइन्स राति पोखरा विमानस्थलमा अवतरण भएपनि सो उडान नियमित तालिकाअनुसार थिएन । मौसमको खराबीका कारण तालिका ढिलाइ भएकाले राति अवतरण गरेको थियो ।

पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै यात्रुलाई सहज हुने र यसबाट पर्यटन क्षेत्रलाई लाभ पुग्ने पर्यटन व्यवसायी बताउँछन् । यहाँका पर्यटन व्यवसायीले विगतदेखि नै रात्रिकालीन उडानको माग गर्दै आएका थिए । पोखराबाट अन्तर्राष्ट्रिय उडान अझै सुरु हुनसकेको छैन ।

Scroll to Top