नेपाली कांग्रेसका सांसद एवं पूर्वजलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ को निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सनलाई कर्णाली प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास निर्देशनालयले कालोसूचीमा राखेको छ ।
निर्देशनालयका अनुसार कम्पनीले वीरेन्द्रनगर क्षेत्रभित्रको प्रदेश राजधानी वीरेन्द्रनगर योजना क्षेत्र शहरी सडक (प्याकेज) १० अन्तर्गतको सडक स्तरोन्नतिको काम समयमा सम्पन्न नगरेको, पटक–पटक सम्झौता म्याद थप हुँदासमेत काम नगरेको र निर्देशनालयबाट गरिएको पत्राचार तथा बैठकहरूमा कम्पनीका प्रतिनिधि अनुपस्थित भइरहँदा सो कदम चालिएको हो ।
यस्तै २०७९ मंसिर २० मा सम्पन्न हुनुपर्ने काम हालसम्म सम्पन्न हुन नसकेको र कम्पनीले काम नगर्ने स्पष्ट संकेत पाएपछि सूचना सार्वजनिक गरी कालोसूचीमा राख्ने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ । तीन पृष्ठे पत्रमा निर्देशनालयले सार्वजनिक खरिद ऐन २०६३ र नियमावली, २०६४ अनुसारको प्रक्रिया पूरा गर्दै कम्पनीलाई कालोसूचीमा सिफारिस गरिएको जनाएको छ ।
कम्पनीको सञ्चालकमा सांसद पूर्णबहादुर तामाङको नाम खुलेर उल्लेख भए पनि उनले यसअघि सार्वजनिक रूपमा आफू कम्पनीमा संलग्न नरहेको दाबी गरेका थिए । तर निर्माण निर्देशनालयबाट पठाइएका पत्रहरूमा ‘कान्छाराम कन्स्ट्रक्सन काठमाडौंसँगै आधिकारिक इमेल र ठेगाना उल्लेख छ, जुन सांसद तामाङसँग सम्बद्ध रहेको प्रमाणित हुन्छ ।
यस्तै निर्देशनालयले आयोजना गरेको ठेक्का समीक्षासम्बन्धी समन्वय बैठकहरूमा कम्पनीको अनुपस्थिति, निर्देशन पालना नगरेको, लिखित जवाफ नदिएको र निर्माणस्थलमै उपस्थिति नजनाएको आरोप छ । निर्माण सामग्री श्रमिक र उपकरणको तयारीसमेत नगरेको अवस्थामा निर्णयअनुसार ठेक्का तोड्ने प्रक्रिया प्रारम्भ गरिएको हो ।