Banijya News

गुणस्तरहीन मसुरो र मासको दाल भारतबाट आयात, विभागले लगायो रोक्क

160 Shares

भारतबाट नेपाल भित्र्याउन लागिएको ठूलो परिमाणको मसुरो र मासको दाल गुणस्तरहीन पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात रोक्का गरेको छ। कञ्चनपुरको भीमदत्तनगरस्थित न्यू श्री बेटल ट्रेडर्सले भारतबाट ल्याएको २,९२० केजी मसुरोको दाल र २,२५० केजी मासको दाल धनगढी भन्सार नाकामा गरिएको परीक्षणमा मापदण्डभन्दा कमसल पाइएपछि विभागले आयातमा रोक लगाएको हो।

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, धनगढीले गरेको परीक्षणमा मसुरोको दालमा किराले क्षति पुर्याएका दाना तोकिएको मापदण्डभन्दा बढी भेटिएका थिए। त्यसैगरी, मासको दालमा बाह्य रंगको उपस्थिति पाइएको थियो। यी कारणले विभागले दुवै दाल नेपाल भित्र्याउन नमिल्ने निर्णय गरी प्रतिवेदन धनगढी भन्सार कार्यालयमा पठाएको छ।

यो घटनाले खाद्यवस्तु आयातमा देखिएको लापरवाहीलाई उजागर गरेको छ। विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जारी गरेको प्रेस नोटमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार खाद्य पदार्थ आयात गर्नुअघि स्वीकृति लिन अनिवार्य रहेको उल्लेख गरिएको छ। ऐनको दफा १३ को उपदफा (१) ले पैठारीपूर्व स्वीकृति लिनुपर्ने र उपदफा (२) ले प्रवेश नाकामा पुनः अनुमति लिएर मात्र आयात गर्न सकिने व्यवस्था गरेको छ।

विभागले सम्पूर्ण खाद्य व्यवसायीलाई ऐन अनुसारका प्रक्रिया पूरा गर्न आग्रह गर्दै त्यसो नगरेमा कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ। यसबाट उपभोक्ताको स्वास्थ्यमाथि हुन सक्ने जोखिमलाई नियन्त्रण गर्न सरकारले कडाईका साथ कदम चालेको देखिन्छ।


Scroll to Top