नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई सूचीकरण गर्ने सरकारी निर्णयपछि विभिन्न प्लेटफर्मले चासो देखाउन थालेका छन्। हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार, एक्स (X) ले मात्र आधिकारिक रूपमा सूचीकरण प्रक्रियाबारे जिज्ञासा राखेको छ।
एक्स (X) ले माग्यो आवश्यक कागजात
एक्सका संस्थापक एलन मस्कको कम्पनीले सूचीकरणका लागि आवश्यक पर्ने कागजातको विवरणबारे मन्त्रालयलाई इमेलमार्फत सोधेको हो। मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले एक्सले चासो देखाए पनि हालसम्म प्रक्रिया भने सुरु गरिनसकेको जानकारी दिए। प्रवक्ता ठाकुरका अनुसार, एक्सले मागेका सबै कागजातको विवरण मन्त्रालयले पठाइसकेको छ। हालसम्म, एक्सबाहेक अन्य कुनै पनि ठूला सामाजिक सञ्जालले सूचीकरणका लागि चासो नदेखाएको उनले बताए।
हाम्रो पात्रोको दर्ता निवेदन
सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय पार्ने निर्णय गरेसँगै हाम्रो पात्रोले भने सूचीकरणका लागि बिहीबार नै निवेदन दिएको छ। प्रवक्ता ठाकुरका अनुसार, हाम्रो पात्रोलाई सूचीकृत गर्ने सन्दर्भमा टिप्पणीसमेत उठिसकेको छ।
मेटा (Meta) को मेलमा संशय
फेसबुक, मेसेन्जर, व्हाट्सएप र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले सूचीकरणका लागि इमेलमार्फत विवरण मागेको भनिए पनि मन्त्रालयले त्यसको आधिकारिकतामाथि शंका व्यक्त गरेको छ। मन्त्रालयका अनुसार, मेटाले औपचारिक रूपमा सम्पर्क नगरेकाले त्यो मेललाई आधिकारिक मान्न सकिने अवस्था छैन। सिंगापुरबाट एक व्यक्तिले आफूलाई मेटाको कर्मचारी भन्दै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका स्वकीय सचिव शालिग्राम पराजुलीलाई सम्पर्क गरेका थिए।
नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय पार्ने सरकारी निर्णयलगत्तै बिहीबार सबै इन्टरनेट सेवा प्रदायकहरूलाई सो निर्देशन दिइसकेको छ।