चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरूले ३५ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले २६ लाख ६६ हजार ८८७ वटा बीमालेख बिक्री गर्दै ३५ अर्ब ८६ करोड ५० लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका हुन्।
उक्त अवधिमा कम्पनीहरूले सबैभन्दा धेरै व्यापार मोटर बीमाबाट गरेका छन्। मोटर बीमामार्फत मात्र १० अर्ब ७७ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरिएको छ, जुन कुल निर्जीवन बीमा व्यवसायको ३०।०५ प्रतिशत हो। दोस्रो ठूलो हिस्सा सम्पत्ति बीमाको रहेको छ। यसतर्फबाट ९ अर्ब ३ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरिएको छ, जसले कुल व्यापारको २५।२० प्रतिशत हिस्सा ओगटेको छ।
इन्जिनियरिङ तथा ठेक्का बीमाबाट कम्पनीहरूले ६ अर्ब ६ करोड ३४ लाख रुपैयाँ आर्जन गरेका छन्। यस्तै, विविध बीमाबाट ३ अर्ब ८५ करोड ९ लाख रुपैयाँ, सामुद्रिक बीमाबाट २ अर्ब १० करोड २४ लाख रुपैयाँ, हवाई बीमाबाट १ अर्ब ९० करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
त्यसैगरी, पशुपन्छी तथा कृषि बीमातर्फ १ अर्ब ३५ करोड २ लाख रुपैयाँ र लघु बीमाबाट ७८ करोड १० लाख रुपैयाँ आर्जन गरिएको छ। कुल व्यापारमा इन्जिनियरिङ तथा ठेक्काको १६.९१ प्रतिशत, विविधको १०.७४ प्रतिशत, सामुद्रिकको ५.८६ प्रतिशत, हवाईको ५.३० प्रतिशत, पशुपन्छी तथा कृषिको ३.७६ प्रतिशत र लघुको २.१८ प्रतिशत योगदान रहेको छ।
यस तथ्यांकले मोटर र सम्पत्ति बीमा क्षेत्र अझै पनि निर्जीवन बीमा व्यवसायको मुख्य आधार रहेका छन् भन्ने स्पष्ट संकेत दिएको छ।