Banijya News

जीवन बीमा कम्पनीहरूको व्यवसाय ६.०१ प्रतिशतले बढ्यो

1.1K Shares

चालू आर्थिक वर्ष ९आव० को पहिलो महीना साउनमा बीमा कम्पनीहरूको व्यवसायमा सुधार देखिएको छ । प्राधिकरणको तथ्यांकअनुसार आव २०८१\८२ को साउनको तुलनामा २०८२\८३ को साउनमा लघुबाहेकका जीवन बीमा कम्पनीहरूको व्यवसाय ६ दशमलव शून्य १ प्रतिशतले बढेको छ ।

चालू आवको साउनसम्ममा कम्पनीहरूले २ लाख ८४ हजार १७६ ओटा बीमालेख जारी तथा नवीकरणबाट १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । गत आवमा कम्पनीहरूले ३ लाख २२ हजार ७८६ बीमालेख विक्रीबाट १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए । अघिल्लो वर्षको तुलनामा गत आवमा जीवन बीमाको व्यवसाय ५ दशमलव ४४ प्रतिशत घटेकोमा चालू आवमा भने सुधार देखिएको हो ।

व्यवसाय विस्तार भए पनि जीवन बीमा कम्पनीहरूमा सक्रिय जीवन बीमालेखको संख्या भने घटिरहेको छ । चालू आवको साउनसम्ममा कम्पनीहरूमा सक्रिय रहेका जीवन बीमालेखको संख्या १ करोड १४ लाख ७६ हजार ८७६ छ । गत आवसम्ममा सक्रिय बीमालेखको संख्या १ करोड ३३ लाख ५८ हजार थियो ।

यसैगरी चालू आवमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा पनि १ दशमलव ३७ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा कम्पनीहरूले २ लाख १५ हजार २८५ बीमालेख विक्री गरी ४ अर्ब ३१ करोड ८४ लाख ४४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गत आवमा कम्पनीहरूले २ लाख २१ हजार ७१ बीमालेख जारी गरी ४ अर्ब २६ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।

कोभिड–१९ महामारी र त्यसपछि आर्थिक गतिविधिमा देखिएको शिथिलताका कारण सुस्ताएको बीमा कम्पनीहरूको व्यवसायले विस्तारै गति लिन थालेको हो ।

ठूला कम्पनीहरूसँगै लघुबीमा कम्पनीहरूले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । साउनसम्ममा लघुबीमा कम्पनीहरूले २ लाख ९५ हजार ७०८ ओटा बीमालेख जारी गरी ७ करोड ७३ लाख १५ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

यसैगरी साउनसम्ममा निर्जीवन बीमाअन्तर्गतका ४ लघुबीमा कम्पनीहरूले साढे ७ करोड रुपैयाँको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरूले २८ हजार ४५६ बीमालेख जारी गरी ७ करोड ८२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले २ करोड १ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २ करोड ८ लाख, स्टार माइक्रो इन्स्योरेन्सले १ करोड ७४ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १ करोड ९८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको बीमा प्राधिकरणले बताएको छ ।


Scroll to Top