Banijya News

५० मध्ये ४० लघुवित्तको मुनाफा वृद्धि, सबैभन्दा बढी छिमेकको ८५ करोड ३५ लाख

4 Shares

विभिन्न चुनौतीका बाबजुद लघुवित्त (माइक्रोफाइनान्स) क्षेत्र पुनः लयमा फर्कन थालेको छ। नियामक निकायहरूको कडाइ, बजारमा चलेका हल्ला र खराब कर्जाको दबाबबीच रहेका लघुवित्त कम्पनीहरूले पछिल्लो समय उल्लेखनीय सुधार देखाएका छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ५० लघुवित्त संस्थामध्ये चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४० कम्पनीले मुनाफा बढाएका छन्। बाँकी १० कम्पनीको मुनाफा अघिल्लो वर्षको तुलनामा केही घटेको देखिएको छ।

समीक्षा अवधिमा सबैभन्दा बढी मुनाफा कमाउनेमा छिमेक लघुवित्त अग्रस्थानमा छ। कम्पनीले ८५ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले वृद्धि हो। त्यसपछि साना किसान विकास लघुवित्तले ५४ करोड ५० लाख, निर्धन उत्थान लघुवित्तले ४८ करोड पाँच लाख, जीवन विकास लघुवित्तले ३५ करोड ५६ लाख रुपैयाँ नाफा कमाएका छन्।

डिप्रोक्स लघुवित्तले ७०.८१ प्रतिशतको उल्लेखनीय सुधार गर्दै नाफा २५ करोडबाट ४३ करोड २१ लाख रुपैयाँ पुर्‍याएको छ। ग्रामिण विकास लघुवित्तले पनि १७ प्रतिशतले मुनाफा वृद्धि गर्दै २४ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ। त्यसैगरी, मेरो माइक्रोफाइनान्सले १२ करोड ९३ लाख, आरएसडिसीले ६ करोड ९८ लाख, हिमालयनले पाँच करोड ३४ लाख, स्वाभिमानले तीन करोड ५७ लाख र सपोर्ट माइक्रोफाइनान्सले तीन करोड छ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन्।

यद्यपि, आरएसडिसी र स्वस्तिक लघुवित्त भने अझै पनि घाटामै रहेका छन्, जुन क्षेत्रका लागि चिन्ताको विषय हो। लघुवित्त क्षेत्रमा सुधार देखिए पनि दीर्घकालीन स्थायित्वका लागि कर्जा उठाउने क्षमता अभिवृद्धि, जोखिम व्यवस्थापन र नियामक निकायसँगको समन्वय अझ आवश्यक देखिन्छ। व्यवसायिक अनुशासन र वित्तीय सुदृढीकरणमार्फत यो क्षेत्र थप स्थायी र विश्वासिलो बनाउने दिशा अवलम्बन गर्नु अबको प्राथमिकता हुनुपर्छ।

Scroll to Top