Banijya News

समर्थन मूल्यमा धान खरिद गर्न सरकारसँग महासंघको माग

4 Shares

सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न माग गर्दै अखिल नेपाल किसान महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ। महासंघका अध्यक्ष प्रेम दंगाल नेतृत्वको टोलीले मंगलबार मन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै किसानको समस्या तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन्।

महासंघका अनुसार सरकारले चालू आर्थिक वर्ष २०८१/८२ का लागि चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २,८६९ रुपैयाँ तोकेको भए पनि अहिले बजारमा सरदर मूल्य मात्र १,६२५ रुपैयाँ प्रतिक्विन्टल (अथवा ६,५०० रुपैयाँ प्रतिमन) रहेको छ। त्यसमा पनि धान बिक्रि हुन नसकेर कुहिने अवस्थामा पुगेको भन्दै किसान हतोत्साहित भएको महासंघले जनाएको छ।

महासंघका उपाध्यक्ष प्रेमनारायण अधिकारीले भने, “सरकारले समर्थन मूल्य समयमै तोके पनि धान खरिद गर्ने कुनै व्यवस्था नगरेर किसानलाई झुक्याउने काम गरेको छ। न्यूनतम समर्थन मूल्य निर्धारण गरेपछि सरकारले उत्पादन भएको धान त्यसै मूल्यमा खरिद गर्ने सुनिश्चितता दिनुपर्छ।”

ज्ञापनपत्र बुझ्दै मन्त्री भण्डारीले किसानका मागबारे आवश्यक सुनुवाइ हुने बताउँदै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई किसानको समस्या सम्बोधन गर्न निर्देशन दिएका छन्। धान खरिद तथा भण्डारण व्यवस्था मिलाउन समेत उनले सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

महासंघले नेपालमा उत्पादन हुने करिब पाँच लाख मेट्रिकटन चैते धान किसानबाट खरिद गरी गोदाममा भण्डारण गर्न तथा आवश्यकताअनुसार वितरण गर्न आग्रह गरेको छ। सरकार किसानप्रति जिम्मेवार र जवाफदेही बन्नुपर्ने महासंघको जोड रहेको छ।

 

Scroll to Top