Banijya News

मोटर बीमाबाट निर्जीवन बीमा कम्पनीले संकलन गरे ११ अर्ब बढी बीमाशुल्क

4 Shares

गत आर्थिक वर्षको ११ महिनामा निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमा बापत ११ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७८ करोड ७७ लाख रुपैयाँ बढी हो ।

अघिल्लो आवको ११ महिनामा कम्पनीहरुले मोटर बीमाबाट १० अर्ब ९५ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ ।

गत आवको जेठ मसान्तसम्म मोटर बीमाको हिस्सा भने घटेको देखिन्छ । अघिल्लो आर्थिक वर्षको ११ महिनासम्म मोटोरको हिस्सा २९.९६ प्रतिशत रहेकोमा गत आवको जेठ मसान्तसम्म यस्तो हिस्सा २९.४४ प्रतिशतमा झरेको छ । जहाँ निर्जीवन बीमाको कुल व्यपार ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ भएको छ ।

गत आवको जेठ मसान्तसम्म १४ लाख ३८ हजार ५४७ वटा मोटर बीमा पोलिसि बिक्री भएको छ । जुन कुल निर्जीवन बीमा पोलिसिको ४९ प्रतिशत हो । यो अवधिमा २९ लाख २६ हजार ५२९ वटा निर्जीवन बीमा पोलिसि बिक्री भएको छ ।

जसमध्ये सबैभन्दा धेरै मोटर पोलिसि बागमती प्रदेशमा जारी भएको छ । यो अवधिमा बागमतीबाट ६ लाख ५४ हजार ७४२ वटा मोटर पोलिसि बिक्री हुँदा लुम्बिनी प्रदेशबाट २ लाख १८ हजार १०९ वटा, कोशी प्रदेशबाट १ लाख ७० हजार १८२ वटा, गण्डकी प्रदेशबाट १ लाख ६२ हजार ८०५ वटा, मधेश प्रदेशबाट १ लाख ३० हजार २०९ वटा, सुदूरपश्चिमबाट ७७ हजार २६१ वटा र कर्णाली प्रदेशबाट २३ हजार २३९ वटा बीमा मोटर बीमा पोलिसि जारी भएको छ ।

मोटर बीमातर्फ बीमाशुल्क संकलनमा पनि बागमती प्रदेश अगाडी रहेको छ । कुल मोटर बीमाशुल्क मध्ये बागमतीको हिस्सा ५७.४७ प्रतिशत रहेको छ । बागमतीबाट ६ अर्ब ७५ करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन हुँदा लुम्बिनीबाट १ अर्ब ४२ करोड ८१ लाख, कोशीबाट १ अर्ब ७ करोड ३५ लाख, गण्डकीबाट ९६ करोड ८९ लाख, मधेशबाट ९२ करोड ५६ लाख सुदूरपश्चिमबाट ४३ करोड ६९ लाख र कर्णालीबाट १६ करोड १३ लाख रुपैयाँ बराबरको मोटर बीमा तर्फको बीमाशुल्क संकलन भएको छ ।

Scroll to Top