निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको छेडखानी छानविन गर्न बनेको समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई दोषी ठहर गरेको छ । समितिले आज (मंगलबार) प्रतिनिधिसभामा प्रतिवेदन पेश गर्दैछ । समितिले खतिवडालाई नैतिक रुपमा दोषी ठहर गरेको हो ।
‘नैतिक रुपमा समितिले तपाईँलाई दोषी ठहर गर्यो । अब समितिको सभापतिबाट राजीनामा दिनुहुन्छ ?’ भन्ने प्रश्नमा खतिवडाले कुलिङ पिरियड हटाउने आफ्नो मनशाय नरहेको बताए । उनले आफू हिजो पनि कुलिङ पिरियडको पक्षमा रहेको र भोलि पनि रहने बताए ।
‘सर्वसम्मत संसद्ले पारित गरेको विधेयक हो यो । त्यसपछि थाहा भयो । थाहा हुनेबित्तिकै हामीले यसलाई कहाँ के भएको भनेर छलफल गर्यौं । जहाँसम्म नैतिकताको कुरा छ, सभापति हुँ म राज्य व्यवस्था समितिको । सही मेरो छ । तर, मैले कुलिङ पिरियड हटाउनेगरी सही गरेको छैन,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘पहिला रिपोर्ट आओस् । त्यसपछि मैले चाल्नुपर्ने राजनीतिक कदम मैले चालौला ।’
समितिले मुख्यसचिव एकनारायण अर्याललाई पनि दोषी ठहर गरेको छ ।