Banijya News

एमालेको विधान महाधिवेशन आजदेखि सुरु हुँदै

1.1K Shares

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ। महाधिवेशन लम्बिने गरेपछि पहिला विधानसम्बन्धी विषय टुङ्ग्याएर पछाडि वैचारिक बहस गर्ने महाधिवेशनको अभ्यास थालनी गरिएको हो।

यो दोस्रो विधान अधिवेशन हो। दुई हजार ३४१ प्रतिनिधि सहभागी हुने यो महाधिवेशनको स्वागतका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ। महाधिवेशनका लागि सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर दुरीभित्र १८ वटा स्वागतद्वार बनाइएका छन्। बिजुलीका खम्बामा हँसिया हथौडा र सूर्य चिह्न अङ्कित झन्डा राखिएका छन्। सातदोबाटोदेखि गोदावरीसम्म आवतजावतका लागि निःशुल्क गाडीको व्यवस्था गरिएको छ।

नेकपा (एमाले) अहिले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारा बोकेर महाधिवेशनमा होमिएको छ।

महाधिवेशनको सभा हलसम्म पुग्दा नवीन प्रकारको ‘माक्र्ससिजम् डिजिटल वल्र्ड’ मा छिरेको अनुभव हुने एमाले पोलिटब्युरो सदस्य विनोद श्रेष्ठले बताए। पार्टीको पाँचौँ महाधिवेशनदेखि बाँस, काठ, हस्तलिखित ब्यानरबाट मञ्च, स्वागतद्वार निर्माण गरिएकोमा यतिखेर सनराइज सभा हललाई पूरै डिजिटल सिस्टममा जोडिएको श्रेष्ठले दाबी गरे। सभा हलको सिट सङ्ख्या दुई हजार ८४० रहेको छ । हलभित्र छिर्ने चार वटा प्रवेशद्वार राखिएका छन् । पहिलो द्वारबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मात्रै प्रवेश गर्नेछन्।

पार्टी पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै प्रवेश गर्नेछन्। प्रतिनिधिको परिचय स्क्यान गर्ने छ वटा कम्प्युटरका बुथ राखिएका छन्। सोही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकले प्रवेश पाउने एमालेले जनाएको छ ।


Scroll to Top