Banijya News

बैंकहरुले निर्माण क्षेत्रमा बढाए कर्जा लगानी, कुन बैंकको कति ?

1.1K Shares

लामो समयदेखि आर्थिक मन्दीको चपेटामा परेको नेपालको निर्माण क्षेत्र विस्तारै चलायमान बन्न थालेको छ । अर्थतन्त्रका सूचकहरूमा क्रमिक सुधार देखिन थालेपछि ठप्पजस्तै बनेको निर्माण उद्योग पुनः लयमा फर्किएको हो ।

जलविद्युत् आयोजना, सडक, पुल तथा भवन निर्माणमा निजी क्षेत्रको सक्रियता उल्लेख्य रूपमा बढेको छ । सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्न ल्याएका सहुलियत र अध्यादेशमार्फत गरिएका सुधारहरूले पनि लगानी विस्तारमा ठूलो सहयोग पुगेको छ । बैंकिङ क्षेत्रबाट ऋण प्रवाह सहज भएपछि ठूला आयोजनामा लगानी बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, निर्माण क्षेत्रमा देखिएको सक्रियतासँगै बैंकहरूले पनि यस क्षेत्रमा कर्जा प्रवाह बढाएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा २० वटा वाणिज्य बैंकहरूले निर्माण क्षेत्रमा २ खर्ब ४ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ११.५ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षमा १ खर्ब ८२ अर्ब ८६ करोड २ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । गत वर्षमा मात्रै बैंकहरूले २१ अर्ब १४ करोड ८५ लाख रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् ।

अधिकांश बैंकहरूले निर्माण क्षेत्रमा लगानी बढाएका छन् भने चारवटा बैंकको कर्जा प्रवाह भने घटेको छ । यस क्षेत्रमा सबैभन्दा ठूलो लगानी नबिल बैंकको देखिएको छ । बैंकले २४ अर्ब ८२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.२२ प्रतिशत बढी हो । एनआईसी एशिया बैंकले पनि यस क्षेत्रमा आफ्नो लगानी ४९.२२ प्रतिशतले बढाएर २२ अर्ब ४ करोड ३५ लाख रुपैयाँ पुर्‍याएको छ । यस्तै, लक्ष्मी सनराइज बैंकले १८.५२ प्रतिशतले वृद्धि गरी १९ अर्ब ८६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कुमारी बैंकले १५ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.५२ प्रतिशत बढी हो । यसबाहेक, सिटिजन्स बैंकले १५ अर्ब ४९ करोड, प्रभु बैंकले १३ अर्ब ९८ करोड, प्राइम बैंकले १३ अर्ब ४५ करोड र कृषि विकास बैंकले १२ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

ग्लोबल आइएमई बैंकले ९ अर्ब ५ करोड, स्टान्डर्ड चार्टर्ड बैंकले ८ अर्ब ७८ करोड, माछापुच्छ्रे बैंकले ७ अर्ब ८९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७ अर्ब ३९ करोड, सानिमा बैंकले ७ अर्ब २८ करोड, एनएमबी बैंकले ६ अर्ब ३१ करोड, सिद्धार्थ बैंकले ४ अर्ब ८२ करोड, एभरेष्ट बैंकले ३ अर्ब ८९ करोड र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, नेपाल बैंकले ३ अर्ब ३८ करोड, हिमालयन बैंकले २ अर्ब ३८ करोड र नेपाल एसबिआई बैंकले ९१ करोड ६० लाख रुपैयाँ निर्माण क्षेत्रमा लगानी गरेका छन् । निर्माण क्षेत्रमा आएको यो सक्रियताले रोजगारी सिर्जना, आन्तरिक माग विस्तार र बैंकिङ कारोबारमा पनि सकारात्मक प्रभाव पारेको छ, जसलाई आर्थिक पुनरुत्थानको बलियो संकेत मानिएको छ ।


Scroll to Top