प्रस्तावित ४७ मेगावाट क्षमताको दूधकोसी–४ जलविद्युत् आयोजना बनाउन भियोमा हाइड्रोपावर लिमिटेड र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड जेभी छनोट भएका छन् । प्रतिस्पर्धाबाट अग्रिम बढी रकम (अप फ्रन्ट कस्ट) कबोल गरेका भियोमा र सानिमा मिडिल जेभीले आयोजना बनाउन पाएका हुन् ।
सानिमा मिडिलले आयोजनाको विकासकर्ता भियोमा हाइड्रोपावरमा ६ प्रतिशत स्वपुँजी (इक्विटी) लगानी गर्ने भएको छ । दूधकोसी आयोजना बनाउन भियोमा र सानिमा मिडिल, सुपरमादी हाइड्रोपावर लिमिटेड र बलेफी हाइड्रोपावर लिमिटेड संक्षिप्त सूचीमा परेका थिए । तर, आयोजना बनाउने जिम्मा भियोमा र सानिमा मिडिलले पाएका हुन् ।
भियोमासँगको जेभीमा आयोजना बनाउन छनोट भएको सानिमा मिडिल तमोरले जानकारी दिएको छ । अब स्पेसल प्रपोज भेहिकल (एसपीभी) कम्पनी बनाइने भएको छ ।