Banijya News

बन्दीपुर केवलकारको आईपीओ बाँडफाँट स्थगित

1.0K Shares

बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले थप सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ भदौ २५ गते बाँडफाँट गर्ने तयारी गरेको थियो । देशको विद्यमान अवस्थालाई ध्यानमा राखी भदौ २५ गतेका लागि निर्धारण गरिएको बाँडफाँट कार्यक्रम स्थगित भएको हो । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले अवस्था सामान्य भएसँगै आईपीओ बाँडफाँटको मिति तय हुने जानकारी दिएको हो ।

कम्पनीले भदौ ११ गतेदेखि १५ गतेसम्म थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणमा जारी गरिने शेयरमध्ये यस अघि आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको छ ।

कम्पनीले सर्वसाधारणमा जारी हुने शेयरमध्ये पहिलो चरणमा ५ करोड ६६ लाख रुपैयाँ बराबरको ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित स्थानीय र ५ करोड २९ लाख ४० हजार रुपैयाँ बराबरको ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन तथा बाँडफाँट गरेकोे हो ।

यी वाहेक पनि १ लाख ५८ हजार ८२० कित्ता शेयर कर्मचारीहरुका लागि र २ लाख ६४ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि समेत बाँडफाँट गरिसकेको कम्पनीको भनाई छ ।


कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २० दशमलव ७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । दोस्रो चरणमा थप सर्वसाधारण लगानीकर्ताहरुका लागि कम्पनीले ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको ४३ लाख ४१ हजार ८० कित्ता आईपीओ निष्कासन गरेको हो ।

यस कम्पनीले बन्दीपुर केवलकार परियोजना निर्माण सम्पन्न गरी २०८१ साल जेठ ३१ गतेबाट व्यवसायिक सञ्चालन गर्दै आएको छ । यस परियोजनाको कुल लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।


Scroll to Top