नेपाली सेनाले राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्न बाध्य बनाएको जेन जी अभियन्ता रक्षा बमले बताएकी छन् ।
सामाजिक संजालमा स्टाटस लेख्दै प्रसाईं र रास्वपा समूह पनि वार्तामा सामेल भएपछि आफूले वार्तास्थल छाडेर निस्किएको उनले बताएकी हुन् ।
उनले लेखेकी छन्, ‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस् । उहाँहरु पनि स्टेकहोल्डर हो भनेर स्वयं प्रधानसेनापतिले भनिसकेपछि, जेन जीआन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्ताबलाई अस्विकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहियौं ।’
साथै अहिले प्रदर्शनकारी जेन जी समूहसँग छलफलका निम्ति तयारी गरिरहेको उनले बताएकी छन् । उनले अर्को स्टाटसमा पनि आफूहरु नेपाली सेना प्रमुखलाई भेट्नलाई नगएको समेत उल्लेख गरेकी छन् । हिजो पनि वार्तामा बस्नलाई जाँदा आफूहरुको माग तयार गर्नलाई समय लाग्ने बताएको उनले बताएकी छन् ।
‘हामी ७७ जिल्लाबाट आएका सम्पूर्ण जेन–जेड प्रदर्शनकारीका प्रतिनिधिहरू मिलेर एउटै संयुक्त दस्तावेजमा काम गर्नेछौँ, हामी सबै एकै ठाउमा आएर आफ्नो माग राख्नेछौ, सबै संग सम्पर्क गर्नेछौं र केही दिनभित्र राष्ट्रपति सहित सेना प्रमुख समक्ष सबैको प्रतिनिधित्व गर्ने मागसहित उपस्थित हुनेछौँ भन्ने सहमतिसहित मात्र हामी बाहिरिएका थियौ’, उनले लखेकी छन् ।
अहिले प्रधानसेनापति अशोकराज सिग्देलसँग हामी नेपाल नामक टिम र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच वार्ता भइरहेको छ ।