लामो समयदेखि चलिरहेको बहस र तयारीपछि अन्ततः ब्रोकर कम्पनीहरूले नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालनमा ल्याउन थालेका छन्। विभिन्न प्रविधिगत समस्या देखाउँदै समयमै लागू गर्न नसके पनि पछिल्ला केही महिनामा ब्रोकरहरू क्रमशः नयाँ टीएमएसको प्रयोगमा सक्रिय बन्दै गएका छन्।
केही ब्रोकरहरूले सामाजिक सञ्जालमार्फत नयाँ टीएमएसको प्रचारप्रसार पनि तीव्र रुपमा थालेका छन्। यससँगै नेप्सेको एकाधिकार अन्त्य भएर प्रतिस्पर्धात्मक वातावरणको सुरुवात भएको विश्लेषण गरिएको छ।
ब्रोकरहरूका अनुसार नयाँ टीएमएस पुरानाको तुलनामा अझ आधुनिक, प्रविधिमैत्री र प्रयोगमैत्री छ। मोबाइल एप, वेब तथा डेस्कटप तीनै माध्यमबाट पहुँचयोग्य नयाँ टीएमएसले लगानीकर्तालाई कारोबार गर्न झनै सजिलो बनाउने दाबी गरिएको छ।
सेक्योर्ड सेक्युरिटिजका सञ्चालक तथा नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष सन्तोष मैनालीका अनुसार, नयाँ टीएमएसमार्फत ग्राहकले आफ्ना सबै कारोबार विवरण, भुक्तानी स्थिति, बाँकी रकम तथा कोल्याट्रल विवरण सहज ढंगले हेर्न सक्छन्। साथै, चार्ट हेरेर लगानी रणनीति बनाउन सकिने सुविधा पनि नयाँ टीएमएसमा समावेश गरिएको छ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार हालसम्म ५ वटा ब्रोकर कम्पनीहरूले आ–आफ्नो छुट्टै टीएमएस सञ्चालनमा ल्याइसकेका छन्। तीमध्ये चार ब्रोकर—सेक्योर्ड सेक्युरिटिज (ब्रोकर नं. ३६), प्रज्ञान सेक्युरिटिज (नं. १०), डाइनामिक मनी मेनेजर्स (नं. ४४) र अरुण सेक्युरिटिज (नं. ०३)—ले श्रीलंकाको IronOne Technologies द्वारा विकास गरिएको टीएमएस प्रयोगमा ल्याएका हुन्।
यता, नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) ले भारतको Dion Global Solutions द्वारा विकास गरिएको ‘Astrix Technology’ टीएमएस प्रयोगमा ल्याएको छ। त्यस्तै, अन्य ५ ब्रोकर—ब्रोकर नं. ४६, १४, ०४, ५३ र ७५—ले पनि छुट्टै टीएमएस सञ्चालनको तयारी गरिरहेका छन्।
पहिले घोषणा गरिएअनुसार, ५० पुराना ब्रोकरमध्ये ३५ ले छुट्टै टीएमएस सञ्चालनमा ल्याउने योजना बनाएका थिए। अहिले १० कम्पनीले कदम चालेका छन् भने बाँकी २५ कम्पनीहरू क्रमशः प्रक्रियामा रहने अपेक्षा गरिएको छ।
नयाँ टीएमएसले ग्राहकलाई कारोबार गर्दा थप पारदर्शिता, पहुँच र प्रयोग सजिलो बनाउने अपेक्षा गरिएको छ। विशेषगरी मोबाइल एपको उपलब्धता र कारोबारको वास्तविक विवरण हेर्न सकिने सुविधा लगानीकर्ताका लागि निकै उपयोगी हुने देखिन्छ। नयाँ प्रणालीको विस्तारसँगै नेपाली पूँजी बजारमा प्रतिस्पर्धा बढ्ने र सेवा स्तरमा सुधार आउने संकेत देखिएको छ।