Banijya News

भारतद्धारा कोरोनाविरुद्धको खोप निर्यातमा रोक, दोस्रो डोजको पर्खाइमा रहेका नेपाली प्रभावित

4 Shares

चैत १२, काठमाडौं ।
भारतले कोरोनाविरुद्धको कोभिसिल्ड खोपको निर्यातमा रोक लगाएको छ । सेरम इन्स्टिट्युट अफ इन्डियाले उत्पादन गरिरहेको अस्ट्राजेनेका भ्याक्सिन (कोभिसिल्ड) को निर्यातमा रोक लगाउने भएको हो । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि खोप आफ्नै देशमा चाहिने भन्दै भ्याक्सिन निर्यातमा रोक लगाएकोे भारतीय पक्षले जनाएका छन् । भारतले अप्रिल १ देखि ४५ वर्षभन्दा माथिकालाई भ्याक्सिन दिन सुरु गर्दैछ । त्यसैले भ्याक्सिन निर्यात गरे अभाव हुने देखिएकोले भ्याक्सिनको माग पूरा गर्न केही समयलाई निर्यात नै रोक्ने तयारीे गरिएको रोयटर्सले उल्लेख गरेको छ ।

अधिकारीहरुका अनुसार अप्रिल महिनासम्म भ्याक्सिनको निर्यातमा ढिलाइ हुन सक्छ । भारतमा उत्पादन हुँदै आएको कोभिसिल्ड भ्याक्सिनको निर्यात रोकिए नेपाल सहितका दक्षिण एसियाली देशहरु सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । धेरैजसो देशमा पहिलो चरणको खोप अभियान पूरा भएका छन् । दोस्रो डोज दिने काम भ्याक्सिनको पर्याप्त स्टक हुन नसक्दा सुरु हुन सकेको छैन । यस्तै, कोभ्याक्सबाट भ्याक्सिन पाउने तयारीमा रहेका १९० देशपनि यसबाट प्रभावित हुनेछन् । नेपालले भारतसँग खरिद गरेको २० लाख डोज खोपमध्ये अहिलेसम्म १० लाख डोज खोपमात्रै नेपाल आएको छ । बाँकी १० लाख डोज यही महिनाभित्र आउने भनिए पनि भारतले खोप निर्यातमा रोक लगाएसँगै अनिश्चित बनेको छ । भारतले पठाउनु पर्ने बाँकी १० लाख डोज कहिलेसम्ममा आउँछ भन्नेमा अन्योल रहेको विज्ञले बताएका छन् । भारतले पठाउनुपर्ने १० लाख डोज खोप नआएपछि नेपालमा कोरोनाविरुद्धको दोस्रो खोप अभियान प्रभावित भएको छ । नेपालमा सबैभन्दा पहिले गएको माघ ८ गते भारतबाट अनुदानमा १० लाख डोज खोप आएको थियो ।

यो खोप सरकारले माघ १४ गतेदेखि अग्रपङ्क्तिमा खटिएकाहरुलाई प्राथमिकतामा राखेर वितरण गरिएको थियो । हाल नेपालमा कोभिसिल्डबाहेक अन्य भ्याक्सिनको प्रयोग भएको छैन । सरकारले थप १० लाख भ्याक्सिको माग गरेपनि त्यो आउन सकेको छैन । सरकारले खरिद गरेको भ्याक्सिन नआउँदा खोप कार्यक्रम रोकिएको छ । भारतमा कोभिसिल्ड निर्यात नगर्दा भ्याक्सिनको दोस्रो सट लगाउन यसअघि नै ढिलो भइसकेको छ । बेलायत र ब्राजिल लगायतका देशमा समेत कोभिसिल्ड भ्याक्सिन निर्यात हुन सकेको छैन । हालसम्म भारतले करिब ७० देशमा कोभिसिल्डको ७० मिलियन डोज निर्यात गरिसकेको छ । नेपालमा कोरोनाविरुद्धको पहिलो डोज लगाएकालाई आउँदो वैशाख ७ गतेदेखि दोस्रो डोज दिने भनिए पनि अन्योल भएको छ । भारतसँगै कोभ्याक्स सुविधामार्फत आउने बाँकी खोप कहिलेसम्म आउँछ भन्ने निश्चित भइनसकेकाले यसबारे स्वास्थ्य मन्त्रालय छलफलमा जुटेको छ ।

Scroll to Top