दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र गतिमा भइरहेको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह निर्माणका लागि तीव्र गतिमा काम भइरहेको जानकारी दिए।
उनका अनुसार, दोधारा चाँदनी नगरपालिका–१ को मायापुरी सामुदायिक वनमा हालसम्म एक हजार रुख कटान भएका छन्। ‘बन्दरगाह निर्माणस्थलमा एक हजार पाँच सय ९३ रुख काट्नुपर्ने थियो। हालसम्म एक हजार रुख कटान भइसकेका छन्,’ उनले भने, ‘यो महिनाभित्र रुख कटानको काम सम्पन्न गरेर निर्माण कार्य अगाडि बढाउने तयारी छ। त्यसका लागि भारतले निर्माण कम्पनी छनोट गरिसकेको छ।’
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल र भारत सरकारबीच जुन १, २०२३ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। भारतीय पक्षले दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रुपैयाँ लागतमा बोलपत्र आह्वान गरी निर्माण कम्पनी छनोट गरिसकेको छ। नेपाली पक्षले बन्दरगाहस्थल खाली गरेर भारतीय पक्षलाई हस्तान्तरण गरेपछि पूर्वाधार निर्माण सुरु हुनेछ।
बन्दरगाहका लागि ४२.३६ हेक्टर क्षेत्रफलमा दुईवटा गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, अध्यागमन भवन, सुरक्षा भवनलगायत पूर्वाधार निर्माण हुनेछन्। नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा ल्याइसकेको छ।
भारतले बन्दरगाहसम्मको पहुँच मार्ग निर्माण गरिरहेको छ। सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि सुदूरपश्चिमको विकासमा नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ।