Banijya News

११ महिनामा १६ खर्ब ८१ अर्बमा झर्यो अन्तरबैंक कारोबार

4 Shares

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढेर तरलता थुप्रिएपछि अन्तरबैंक कारोबारमा उल्लेखनीय गिरावट आएको छ। यसले समग्र ब्याजदरमा समेत कमी ल्याएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा वाणिज्य बैंकहरूले १५ खर्ब ३१ अर्ब २१ करोड रुपैयाँ र विकास बैंक तथा फाइनान्स कम्पनीहरूले १ खर्ब ५० अर्ब ३३ करोड रुपैयाँ गरी कुल १६ खर्ब ८१ अर्ब ५४ करोड रुपैयाँको अन्तरबैंक कारोबार गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ खर्ब रुपैयाँले कम हो। गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले ३७ खर्ब १ अर्ब ४३ करोड र विकास बैंक तथा फाइनान्स कम्पनीहरूले ३ खर्ब ५९ अर्ब ५५ करोड गरी कुल ४० खर्ब ६० अर्ब ९८ करोड रुपैयाँको अन्तरबैंक कारोबार गरेका थिए। निक्षेपको पर्याप्तताले गर्दा बैंकहरूबीचको अल्पकालीन सापटी लिने र दिने क्रम घटेको राष्ट्र बैंकले जनाएको छ।

अन्तरबैंक कारोबार घटेसँगै ब्याजदरमा समेत कमी आएको छ। २०८१ जेठमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.९९ प्रतिशत रहेकोमा २०८२ जेठमा घटेर २.९४ प्रतिशतमा झरेको छ। बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८१ जेठमा २.९५ प्रतिशत रहेकोमा २०८२ जेठमा २.९९ प्रतिशतमा पुगेको छ।

आधारदरतर्फ, २०८२ जेठमा वाणिज्य बैंकहरूको औसत आधारदर ६.०९ प्रतिशत छ, जुन २०८१ जेठको ८.१७ प्रतिशतभन्दा कम हो। त्यसैगरी, विकास बैंकहरूको आधारदर ८.२९ प्रतिशत र फाइनान्स कम्पनीहरूको ९.२ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ९.९६ प्रतिशत र ११.४६ प्रतिशतभन्दा कम हो।

निक्षेपको भारित औसत ब्याजदर पनि घटेको छ। २०८२ जेठमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.२९ प्रतिशत, विकास बैंकहरूको ५.२ प्रतिशत र फाइनान्स कम्पनीहरूको ६.९ प्रतिशत रहेको छ। यो २०८१ जेठको तुलनामा उल्लेखनीय कमी हो, जहाँ वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर ६.१७ प्रतिशत, विकास बैंकहरूको ७.७ प्रतिशत र फाइनान्स कम्पनीहरूको ८.२८ प्रतिशत थियो।

यसैगरी, कर्जाको भारित औसत ब्याजदरमा पनि गिरावट आएको छ। २०८२ जेठमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.९९ प्रतिशत, विकास बैंकहरूको ९.४० प्रतिशत र फाइनान्स कम्पनीहरूको ८.२८ प्रतिशत छ। २०८१ जेठमा वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर १०.१५ प्रतिशत, विकास बैंकहरूको ११.६३ प्रतिशत र फाइनान्स कम्पनीहरूको ११.८५ प्रतिशत थियो।

Scroll to Top