राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लघुवित्त कम्पनीहरूलाई आफ्नै आधार दर (बेस रेट) मा आधारित कर्जाको ब्याजदर निर्धारण गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरेको थियो। यो व्यवस्था २०८२ सालको जेठ मसान्तभित्र लागू गरिसक्नुपर्ने लक्ष्य थियो। तर तोकिएको समय सकिँदा पनि यो लागू हुन सकेको छैन।
लघुवित्त वित्तीय संस्थाहरूको प्रतिनिधित्व गर्दै आएका पूर्वअध्यक्ष बसन्तराज लम्सालका अनुसार, सस्तो र स्थिर ब्याजदरमा पुँजी पाउने निश्चितता नहुनु नै प्रमुख कारण हो। उनका अनुसार, लघुवित्त कम्पनीहरूले बैंक वा अन्य वित्तीय स्रोतबाट भिन्न–भिन्न ब्याजदरमा पुँजी लिने हुँदा आधार दरमार्फत ब्याज तोक्ने व्यवस्थामा चुनौती आइरहेको छ।
लम्सालले भने, “यदि लघुवित्तहरूले सधैं ५/७ प्रतिशतमा पुँजी पाइरहन्थे भने समस्या हुने थिएन। तर कहिले काहीं १५ प्रतिशतमा कर्जा लिएर त्यही दरमा लगानी गर्नुपर्ने अवस्था आउँछ। यसले व्यवसाय चलाउन कठिन हुन्छ।”
हाल लघुवित्त कम्पनीहरूले अधिकतम १५ प्रतिशत ब्याजदरमा मात्रै कर्जा दिन पाउँछन्। तर बैंकिङ प्रणालीमा सात खर्ब रुपैयाँजतिको तरलता हुँदा उनीहरूले अहिले साढे ५ देखि ८–९ प्रतिशतसम्ममा पुँजी जुटाइरहेका छन्। वाणिज्य बैंकहरू आफ्नो आधार दरभन्दा तल कर्जा दिन पाउँदैनन्, तर लघुवित्त जस्ता संस्थाहरूलाई दुई प्रतिशतसम्म थप गरेर कर्जा दिने व्यवस्था छ।
तर यस्तो अवस्था स्थायी हुँदैन। कर्जाको माग बढ्दा बैंकहरू पुँजीको मूल्य बढाउँछन्, जसले गर्दा लघुवित्त कम्पनीहरूले उच्च ब्याजमा रकम जुटाएर पनि न्यून ब्याजमै कर्जा दिनुपर्ने अवस्था आउँछ। यस्तो अनिश्चितताका कारण लघुवित्तहरूले स्थायित्वका लागि आफ्नै आधार दर निर्धारण गरी ब्याजदर तोक्न सक्ने व्यवस्था हुनुपर्ने माग गर्दै आएका छन्।
२०७९ सालदेखि नै यस्तो व्यवस्था गर्न प्रयत्न हुँदै आएको भए पनि कार्यान्वयनमा ढिलाइ भएको छ। यसै सन्दर्भमा केही समयअघि सार्वजनिक ‘लघुवित्त वित्तीय संस्थाहरूका समस्या र समाधान प्रतिवेदन’ मा एकल ब्याजदर सीमाले कतिपय संस्थाहरूलाई अत्यधिक नाफा कमाउने मौका दिँदै अन्यलाई घाटा पर्ने असमान अवस्था सिर्जना भएको उल्लेख गरिएको थियो।
यसबाहेक, धेरै लघुवित्त कम्पनीहरूले आफ्ना सदस्यबाहेक सर्वसाधारणबाट निक्षेप संकलन गर्न नपाउने प्रावधानले पनि पुँजी जुटाउन कठिन बनाएको छ। हाल ५२ मध्ये जम्मा दुई लघुवित्त कम्पनीले मात्रै सर्वसाधारणबाट बचत संकलन गर्न पाएका छन्। ती दुई कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४८ अर्ब रुपैयाँ संकलन गरेका छन्।
पूर्वअध्यक्ष लम्सालका अनुसार अन्य लघुवित्तलाई पनि पूँजी संरचना तथा क्षमता मूल्यांकन गरी सर्वसाधारणबाट निक्षेप संकलन गर्ने सुविधा दिनु आवश्यक छ। यसले लघुवित्तको पुँजी स्रोत फराकिलो बनाउनेछ।
राष्ट्र बैंकले भने अब यो आधार दर प्रणाली साउनदेखि लागू गर्ने तयारी गरिरहेको बताएको छ। कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलका अनुसार, नयाँ अभ्यास भएकाले केही समय लाग्ने भए पनि अब प्रत्येक तीन महिनाको औसत आधार दर निकालेर त्यसअनुसार कर्जाको ब्याजदर निर्धारण गर्ने प्रणाली लागू गरिनेछ।
उनले भने, “नयाँ आर्थिक वर्षदेखि यो व्यवस्था लागू गर्ने तयारीमा छौं।”
साथै, राष्ट्र बैंकले आधार दरमा प्रिमियम थप्दा त्यसको सीमा पनि तोक्ने बताएको छ। उदाहरणका लागि, कुनै लघुवित्तको आधार दर १० प्रतिशत भएमा त्यसमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी १२ प्रतिशतसम्म कर्जा लगानी गर्न सक्नेछ।
यसरी, लघुवित्त कम्पनीहरूको ब्याजदर निर्धारण प्रणालीलाई पारदर्शी र स्थिर बनाउने राष्ट्र बैंकको प्रयास अव साउनबाट कार्यान्वयन हुने अपेक्षा गरिएको छ।


