Banijya News

लगानीमैत्री वातावरण बनाउन सरकारको ९० दिने कार्ययोजना, व्यवसायीका समस्या प्राथमिकतामा

1
1.0K Shares

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न व्यवसायीले उठाउँदै आएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। लगानीको वातावरण सुधार गर्न सरकारले ९० दिने विशेष कार्ययोजना ल्याउने तयारी गरिरहेको जानकारी दिँदै उनले नीतिगत तथा प्रशासनिक अवरोध हटाएर व्यवसायमैत्री वातावरण निर्माण गरिने स्पष्ट पारेका छन्।

यूके–नेपाल व्यापार मञ्च २०२६ लाई सम्बोधन गर्दै मन्त्री साहले नेपालमा लगानीको सम्भावना प्रशस्त भए पनि परम्परागत सोच र सरकारी कार्यशैलीका कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए। प्राकृतिक स्रोत, बजार र भौगोलिक अवस्थाको सम्भावना मात्रले विदेशी लगानी आकर्षित नहुने उल्लेख गर्दै उनले नीतिगत स्थिरता, पारदर्शिता, छिटो निर्णय प्रक्रिया र लगानीकर्ताको विश्वास निर्माण गर्न आवश्यक रहेको बताए।

उनका अनुसार प्रस्तावित ९० दिने कार्ययोजनालाई तीन चरणमा विभाजन गरेर कार्यान्वयन गरिनेछ। पहिलो ३० दिनभित्र बेलायती तथा नेपाली व्यवसायीले भोग्दै आएका प्रमुख समस्या, सम्भावित लगानीका प्रस्ताव तथा नीतिगत र नियामकीय अवरोध पहिचान गरिनेछ। यस क्रममा निजी क्षेत्रसँग प्रत्यक्ष संवाद गरी लगानी विस्तारमा देखिएका व्यावहारिक कठिनाइको विवरण संकलन गरिनेछ।

त्यसपछिको ६० दिनभित्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, अन्य सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रबीच समन्वय गरी पहिचान गरिएका समस्याको समाधान खोजिनेछ। ९० दिनको अवधिभित्र सुधारका प्राथमिकता, जिम्मेवार निकाय, कार्यान्वयनको समयसीमा र प्रगति मापन गर्ने सूचकसहितको कार्ययोजना तयार गरी कार्यान्वयन तथा अनुगमन अघि बढाइने मन्त्री साहले जानकारी दिए।

सरकारी कामको मूल्यांकन बैठक र छलफलको संख्याका आधारमा नभई त्यसबाट प्राप्त उपलब्धिका आधारमा हुनुपर्ने उनको भनाइ छ। उनले भने, ‘हाम्रो सफलताको मापन हामीले कति बैठक गर्यौँ भन्ने आधारमा होइन, कति अवरोध हटायौँ, कति लगानी सहजीकरण गर्यौँ र कति रोजगारी सिर्जना गर्यौँ भन्ने आधारमा हुनुपर्छ।’

मन्त्री साहले नेपाल र बेलायतबीच लामो समयदेखि कायम मित्रता तथा ऐतिहासिक सम्बन्धलाई अब आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। दुई देशबीचको सम्बन्धलाई व्यापार विस्तार, प्रविधि हस्तान्तरण र लगानी प्रवर्द्धनको आधार बनाउन सकिने उनको भनाइ छ। मित्रताले अवसर सिर्जना गरे पनि वास्तविक आर्थिक समृद्धिका लागि लगानी आवश्यक रहेको उनले बताए।

नेपालमा जलविद्युत्, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, हरित प्रविधि, उत्पादनमूलक उद्योग, दिगो पूर्वाधार तथा सेवा क्षेत्रमा विदेशी लगानीको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै उनले बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरे।

त्यसैगरी नेपाली पश्मिना, गलैँचा, फेल्टजन्य सामग्री, तयारी पोसाक, हस्तकला, परम्परागत वाद्यवादन र जडीबुटीजन्य उत्पादनले बेलायती बजारमा राम्रो सम्भावना बोकेको उनले बताए। यी उत्पादनको निर्यात विस्तारबाट नेपाली उद्योगको विकास र रोजगारी सिर्जनामा योगदान पुग्ने उनको विश्वास छ।

नेपालमा लगानीको सम्भावना हुँदाहुँदै पनि नीतिगत अनिश्चितता र प्रशासनिक जटिलताले लगानी भित्र्याउन चुनौती सिर्जना गरेको मन्त्रीले स्वीकार गरे। व्यवसायीले उठाउँदै आएका दोहोरो कराधान, कर नीतिको स्थिरता, मुनाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्तिको संरक्षण र निर्यात सहजीकरणका विषयलाई प्राथमिकताका साथ सम्बोधन गरिने उनले प्रतिबद्धता जनाए।

1

Scroll to Top