Banijya News

प्राकृतिक विपद्को जोखिम बाँड्न ‘क्याटबन्ड’ ल्याउने तयारी

1
1.0K Shares

भूकम्प, बाढीपहिरो तथा महामारीजस्ता ठूला प्राकृतिक विपद्बाट उत्पन्न हुने बीमा जोखिम व्यवस्थापन गर्न सरकारले वैकल्पिक जोखिम हस्तान्तरणको कानुनी व्यवस्था गर्न लागेको छ । यसका लागि बीमा ऐन, २०७९ संशोधन गर्ने तयारी गरिएको हो ।

बीमा ऐन संशोधनको मस्यौदामा ऐनको दफा १६८ को उपदफा (२) मा नयाँ खण्ड (ङ) थप गरी पुनर्बीमाबाहेकका वैकल्पिक जोखिम हस्तान्तरणका उपकरण प्रयोग गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।

हालको ऐनले नेपाल बीमा प्राधिकरणलाई आवश्यक नियम बनाउने अधिकार दिए पनि परम्परागत पुनर्बीमाबाहेकका अन्य जोखिम हस्तान्तरणका उपकरणबारे स्पष्ट व्यवस्था गरेको छैन । प्रस्तावित संशोधनले क्याटबन्ड (महाविपत्ति ऋणपत्र) लगायतका वैकल्पिक वित्तीय उपकरण प्रयोग गर्ने कानुनी आधार तयार गर्नेछ ।

क्याटबन्डमार्फत बीमा कम्पनीले ठूला प्राकृतिक विपद्को जोखिम पुँजी बजारका लगानीकर्तासँग बाँड्न सक्छन् । यस्तो ऋणपत्रमा लगानीकर्ताले निश्चित प्रतिफल प्राप्त गर्छन् । तर, तोकिएको अवधिभित्र ठूलो विपद् आएमा लगानी गरिएको रकम बीमा दाबी भुक्तानीमा प्रयोग गर्न सकिन्छ । विपद् नआएमा भने लगानीकर्ताले ब्याजसहित आफ्नो रकम फिर्ता पाउँछन् ।

नेपाल भूकम्प, बाढीपहिरोलगायत प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले यस्तो व्यवस्था महत्वपूर्ण मानिएको छ । ठूला विपद्का बेला परम्परागत पुनर्बीमा कम्पनीको क्षमता सीमित हुन सक्ने र पुनर्बीमा शुल्क महँगिन सक्ने अवस्थामा क्याटबन्ड वैकल्पिक स्रोत बन्न सक्छ ।

यसले नेपाली बीमा कम्पनीलाई अन्तर्राष्ट्रिय पुँजीबजारबाट जोखिम व्यवस्थापनका लागि स्रोत जुटाउने अवसरसमेत प्रदान गर्नेछ । पुनर्बीमा बजारमा मूल्यवृद्धि तथा उतारचढाव हुँदा वैकल्पिक व्यवस्था उपयोगी हुने अपेक्षा गरिएको छ ।

यद्यपि, नेपालका लागि क्याटबन्ड नयाँ वित्तीय उपकरण भएकाले यसको प्रभावकारी कार्यान्वयनका लागि नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले स्पष्ट मापदण्ड, नियमन तथा भरपर्दो तथ्यांक प्रणाली विकास गर्नुपर्ने देखिन्छ ।

1

Scroll to Top