Banijya News

बजारमा थपियो ९७ अर्ब रुपैयाँ चलनचल्तीको मुद्रा

1
1.0K Shares

बजारमा चलनचल्तीमा रहेको मुद्रा (करेन्सी इन सर्कुलेसन) उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको मासिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा बजारमा चलनचल्तीमा रहेको मुद्रा करिब ९७ अर्ब रुपैयाँले बढेको हो ।

गत असार मसान्तमा ८ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ रहेको चलनचल्तीको मुद्रा कात्तिक मसान्तसम्म आइपुग्दा बढेर ८ खर्ब ९८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बजारमा ९६ अर्ब ९२ करोड रुपैयाँ बराबरको मुद्रा थपिएको हो । यसले चार महिनाको अवधिमा बजारमा नगद प्रवाह बढेको देखाउँछ ।

यसैबीच, नेपाल राष्ट्र बैंकको समग्र वित्तीय आकारसमेत ४१ खर्ब रुपैयाँ नाघेको छ । गत असार मसान्तमा ३८ खर्ब ७४ अर्ब ९८ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकको कुल सम्पत्ति तथा दायित्व कात्तिक मसान्तसम्ममा बढेर ४१ खर्ब ३४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । चार महिनामा राष्ट्र बैंकको वासलात २ खर्ब ५९ अर्ब २७ करोड रुपैयाँले विस्तार भएको हो ।

राष्ट्र बैंकको वित्तीय विवरणअनुसार यस अवधिमा विदेशी सम्पत्तिमा भएको वृद्धि वासलात विस्तारको प्रमुख आधार बनेको छ । असार मसान्तमा ३७ खर्ब ३० अर्ब रुपैयाँ रहेको विदेशी मुद्रा सम्पत्ति कात्तिक मसान्तसम्ममा बढेर ३९ खर्ब ८९ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

विदेशी मुद्रा सम्पत्तिअन्तर्गत विदेशी धितोपत्रमा गरिएको लगानी २९ खर्ब ३९ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, विदेशी बैंकमा रहेको नगद मौज्दात २ खर्ब ८५ अर्ब १ करोड रुपैयाँ कायम भएको छ । यद्यपि, विदेशी बैंकमा राखिएको मुद्दती निक्षेप भने घटेर ५ खर्ब २५ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको छ । सुनको प्रमाणपत्रमा गरिएको लगानी २ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकको स्वदेशी मुद्रा सम्पत्ति भने १ खर्ब ४४ अर्ब ४० करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

दायित्वतर्फ सरकारी खातामा रहेको निक्षेपमा उल्लेख्य वृद्धि देखिएको छ । गत असार मसान्तमा १ खर्ब ८६ अर्ब रुपैयाँ रहेको सरकारी निक्षेप कात्तिक मसान्तसम्ममा बढेर ३ खर्ब १८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । चार महिनामा सरकारी निक्षेप १ खर्ब ३२ अर्ब ७७ करोड रुपैयाँले बढेको हो ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थासँगको दायित्व भने घटेको छ । असार मसान्तमा १२ खर्ब ७७ अर्ब ४० करोड रुपैयाँ रहेको यस्तो दायित्व कात्तिक मसान्तमा घटेर ९ खर्ब १८ अर्ब ३० करोड रुपैयाँमा झरेको छ ।

यस अवधिमा वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा राखेको निक्षेप भने उल्लेख्य बढेको छ । असार मसान्तमा ३ खर्ब ९२ अर्ब ५७ करोड रुपैयाँ रहेको यस्तो निक्षेप कात्तिक मसान्तसम्ममा बढेर ८ खर्ब ४० अर्ब १० करोड रुपैयाँ पुगेको छ । अर्कोतर्फ राष्ट्र बैंकको जगेडा कोष १० खर्ब ८५ अर्ब ७३ करोड रुपैयाँबाट घटेर १० खर्ब ४७ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ ।

समग्रमा, पहिलो चार महिनामा चलनचल्तीको मुद्रा, विदेशी सम्पत्ति तथा सरकारी निक्षेपमा भएको वृद्धिले केन्द्रीय बैंकको वित्तीय आकार विस्तार भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

1

Scroll to Top