निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फको निर्वाचन परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरेका हुन्।
निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था भएकाले सोही अनुरुप बुझाइएको निर्वाचन आयोगले जनाएको छ । आयोगले मतपरिणाम राष्ट्रपतिलाई बुझाएसँगै अब नयाँ सरकार गठनका लागि बाटो खुला भएको हो ।
निर्वाचनको मतपरिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै ८९ सिट प्राप्त गरेको छ । त्यसैगरी एमालेले ७८, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीले १२, नेकपा एकीकृत समाजवादीले १०, जनमत पार्टीले ६ र लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट ल्याउन सफल भएका छन् । निर्वाचन आयोगले बुधबार निर्वाचनको सबै परिणाम परिणाम घोषणा गरेको थियो ।