सरकारले मुख्यसचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यालयका सचिव अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानीमन्त्री महिन्द्र राय यादवले जानकारी दिएका हुन् ।
शंकरदास बैरागीको तीनवर्षे कार्यकाल बाँकी हुँदै अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको हो । अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि सचिव थिए ।
बैरागी यसअघि पनि केपी ओली सरकारका पालामा सेटिङमै मुख्यसचिव बनेका थिए । त्यतिबेलाका मुख्यसचिव लोकदर्शन रेग्मीले स्वतः अवकाश पाएका भए धनबहादुर तामाङ मुख्यसचिव बन्ने थिए । तर अवकाशअघि नै रेग्मीले राजीनामा दिएपछि बैरागीलाई मुख्यसचिव बनाइएको थियो ।
मुख्यसचिवबाट राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूत बनाइएको थियो । अहिले अर्याललाई मुख्यसचिव बनाउन एनसेललगायतका शक्ति केन्द्रले तीव्र लबिङ चलाएको स्रोतको दाबी छ ।