Banijya News

रिलायबल नेपाल लाइफले सर्वसाधारणको लागि आईपीओ ल्याउँदै

4 Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साउन २३ गतेदेखि सर्वसाधारणलाई प्रिमियममा ९६ लाख कित्ता प्राथमिक सार्वजनिक आईपीओ जारी गर्ने भएको छ । इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २५७ रुपैयाँमा ९६ लाख कित्ता सेयर निष्काशन गर्ने छ ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि बाँडफाँड गरिसकेको छ । बाँकी रहेको १ करोड ८ लाख कित्तामध्ये ५–५ प्रतिशत अर्थात ६।६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरु र सामूहिक लगानी कोष छुट्याइएको हो । बाँकी रहेको ९६ लाख कित्ता सेयर कम्पनीलेसर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

यसमा सर्वसाधारणले साउन २३ गतेदेखि २६ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुन्छ । अधिकतममा ५ हजार ४ सय कित्ताका लागि आवेदन दिनसक्ने व्यवस्था भएपनि गोलाप्रथाबाट १० कित्ता हात पार्नुपर्ने अवस्थाका कारण १० कित्ताले हुने २५७० रुपैयाँको आवेदन दिनु उपयुक्त हुनेछ ।

लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड विकास गरेको मेरो सेयर मोबाइल एप तथा ‘मेरो सेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ । इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Scroll to Top