नेपालको बैंकिङ क्षेत्रमा खराब कर्जा असुली प्रभावकारी नहुँदा बैंकहरूको गैर-बैंकिङ सम्पत्तिमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्त) सम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा थप १० अर्ब १९ करोड २० लाख रुपैयाँ बराबरको गैर-बैंकिङ सम्पत्ति थुप्रिएको छ।
बैंकिङ क्षेत्रमा ऋण प्रवाहमा आएको सुस्तता र पुरानो कर्जा असुलीमा देखिएको कठिनाइका कारण गैर-बैंकिङ सम्पत्ति बढ्दै गएको हो। जेठ मसान्तसम्म समग्र बैंक तथा वित्तीय संस्थाको खराब कर्जा (NPL) ५.२४ प्रतिशत पुगेको छ। कुल गैर-बैंकिङ सम्पत्ति ४५ अर्ब ७० करोड १० लाख रुपैयाँ पुगेको छ, जुन गत असार मसान्तको ३५ अर्ब ५० करोड ९० लाख रुपैयाँको तुलनामा निकै बढी हो।
वाणिज्य बैंकहरूको औसत खराब कर्जा (NPL) ५.०५ प्रतिशत रहेको छ। जेठ मसान्तसम्म वाणिज्य बैंकहरूमा ३८ अर्ब ७९ करोड १० लाख रुपैयाँ बराबरको गैर-बैंकिङ सम्पत्ति थुप्रिएको छ। यो गत असार मसान्तको ३० अर्ब १७ करोड ६० लाख रुपैयाँको तुलनामा ८ अर्ब ६१ करोड ५० लाख रुपैयाँले बढी हो।
विकास बैंकहरूको औसत NPL ५.५६ प्रतिशत पुगेको छ। यस वर्ष पुससम्म विकास बैंकहरूमा ४ अर्ब १६ करोड ३० लाख रुपैयाँ बराबरको गैर-बैंकिङ सम्पत्ति जम्मा भएको छ। गत असार मसान्तको तुलनामा यो ७९ करोड ४० लाख रुपैयाँले बढी हो।
त्यस्तै, फाइनान्स कम्पनीहरूको NPL अझै चिन्ताजनक देखिएको छ, जुन जेठ मसान्तसम्म १३.०४ प्रतिशत पुगेको छ। फाइनान्स कम्पनीहरूको गैर-बैंकिङ सम्पत्ति २ अर्ब ७४ करोड ७० लाख रुपैयाँ रहेको छ, जुन गत असार मसान्तको १ अर्ब ९६ करोड ४० लाख रुपैयाँको तुलनामा ७८ करोड ३० लाख रुपैयाँले बढेको छ।
निजी क्षेत्रबाट कर्जाको माग नबढ्नु र बढेको निक्षेपका कारण अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार प्रणालीबाट पैसा खिच्नुपर्ने अवस्थाले बैंकिङ क्षेत्रमा थप दबाब सिर्जना गरिरहेको छ। खराब कर्जा असुलीमा देखिएको सकसले बैंकहरूको लागत बढाएको छ, जसले समग्र वित्तीय स्थिरतामा चुनौती थपेको छ।