नेपाली कांग्रेसकी सांसद सरस्वती बजिमयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अमेरिका कसरी गएका थिए भनी प्रश्न उठाएकी छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा उनले गृहमन्त्री रमेश लेखकमाथि लागेको मानव तस्करीको आरोपको सन्दर्भमा रास्वपाको भूमिका र कार्यशैलीमाथि पनि प्रश्न गरेकी हुन् ।
सांसद बजिमयले रास्वपाको सदनमा बोल्ने अनि बैठक बहिस्कार गर्ने शैलीप्रति आपत्ति जनाउँदै भनिन्, “बोल्यो अनि हिँड्यो, मनपरी बोल्न पाइने, जे पनि गर्न पाइने, के खालको हो मलाई अचम्म लागेको छ। रास्वपा सदनमा आउने, बोल्ने अनि बहिष्कार गर्ने यो सही हो सभामुख महोदय ?“
उनले रवि लामिछाने भिजिट भिसामा अमेरिका गएर अमेरिकी नागरिकता लिएको सन्दर्भ जोड्दै नैतिकताको प्रश्न उठाइन् । बजिमयले भनिन्, “जुन पार्टीको सभापति भिजिट भिसामा अमेरिका गएर अमेरिकाको नागरिकता लिएको छ, उसकै पार्टीको व्यक्तिले अहिलेको गृहमन्त्रीलाई मानव तस्कर भनेर दोष लगाउन कुन नैतिकताले दिन्छ?“ उनले थप प्रश्न गर्दै भनिन्, “म जवाफ खोज्छु? उहाँ कसरी जानुभएको थियो, जवाफ चाहियो।“ उनले रास्वपाका व्यक्तिहरूले म्यानपावरमार्फत भिजिट भिसामा मान्छे पठाइरहेको आरोपसमेत लगाइन्।


