Banijya News

किया ईभि ५ नेपाल भित्रियो, नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुने

4 Shares

कोरियन अटोमोबाइल कम्पनी किया मोटर्सको नयाँ इलेक्ट्रिक एसयूभी किया EV5 नेपाल आइपुगेको छ। चीनमा उत्पादित यो गाडी वीरगञ्ज भन्सारमा आइपुगेको र हाल भन्सार जाँचपासको प्रक्रियामा रहेको नेपालका लागि किया मोटर्सको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले जानकारी दिएको छ।

कम्पनीका निर्देशक आशिष पौड्यालका अनुसार, किया EV5 को डेमो युनिट नेपाल भित्रिएको हो। यस गाडीलाई आगामी साउन २१ गतेदेखि आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने कम्पनीको योजना छ।

सन् २०२३ मा लन्च भएको किया EV5 कियाको मिड-साइज क्रसओभर एसयूभी हो। कियाले आफ्ना पछिल्ला सफल EV मोडलहरू EV6 र EV9 पछि यो नयाँ इलेक्ट्रिक गाडी बजारमा ल्याएको हो। विशेषगरी, चीनमा उत्पादन भएर अन्तर्राष्ट्रिय बजारमा निर्यात भएको कियाको यो पहिलो EV मोडल हो।

कियाको ‘अपोजिट युनाइटेड’ डिजाइन ल्याङ्ग्वेजमा आधारित यस एसयूभीको लम्बाइ ४६१५ एमएम, चौडाइ १८७५ एमएम, उचाइ १७१५ एमएम र ह्वीलबेस २७५० एमएम रहेको छ।

हाल डेमो भेहिकलको रूपमा ल्याइएको किया EV5 मा १६० किलोवाटको मोटर जडान गरिएको छ। यसमा ६०.३ किलोवाट आवरको NMC र ६४.२ किलोवाट आवरको बीवाइडीको LFP ब्लेड ब्याट्रीको विकल्प उपलब्ध छ। यद्यपि, नेपाली बजारमा बिक्रीका लागि आउने मोडलमा भने ९९ किलोवाटको मोटर रहने सम्भावना छ।

किया EV5 मा अत्याधुनिक प्रविधि र आरामदायी विशेषताहरू समावेश छन्। यसमा १२.३ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, १२.३ इन्चको टचस्क्रिन कनेक्टेड इन्फोटेनमेन्ट डिस्प्लेका साथै तेस्रो स्क्रिनको रूपमा ५ इन्चको क्लाइमेट कन्ट्रोल टचस्क्रिन प्यानल रहेको छ। साथै, यसमा वे पावर ड्राइभर सिट, फोर-वे पावर फ्रन्ट प्यासेन्जर सिट, प्याडल सिफ्टर, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डुअल-जोन क्लाइमेट कन्ट्रोल, हीटेड भेन्टिलेटेड फ्रन्ट सिट, V2L इन्टेरियर सकेट, र १९ इन्चको अलोय ह्वील जस्ता फिचरहरू पनि उपलब्ध छन्।

कियाले EV5 को क्याबिनमा रिसाइकल प्लास्टिक र प्लान्ट-बेस लेदर जस्ता दिगो सामग्रीहरू प्रयोग गरी यसलाई वातावरणमैत्री बनाएको दाबी गरेको छ। सुरक्षाका लागि EV5 मा ७ वटा एयरब्याग, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट असिस्ट, लेन किप असिस्ट, डाइनामिक गाइडलाइनसहितको रियर क्यामेरा, र रियर अकुपेन्ट अलर्ट लगायतका सुरक्षा फिचरहरू दिइएको छ।

Scroll to Top