गण्डकी प्रदेशबाट सुरु भएको सार्वजनिक यातायात व्यवसायीको हडताल अहिले देशव्यापी बनिसकेको छ । सरकारद्वारा जारी गरिएको ‘राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२’ को विरोधमा व्यवसायीहरू सडकमा उत्रिएपछि अत्यावश्यक सेवा ठप्प भएको छ । यसले आमनागरिकको दैनिक जीवन मात्र होइन, संविधानसम्मको अवमूल्यन गरिरहेको स्पष्ट देखिन्छ ।
नेपालको सहरी यातायात क्षेत्रमा राइड सेयरिङ सेवाले आम नागरिकको दैनिकीलाई सहज बनाइरहेको छ । राइड सेयरिङ सेवाहरूले नेपालमा यातायातको परम्परागत संरचनामा क्रान्तिकारी परिवर्तन ल्याएका छन्। पठाओ, इन्ड्रईभ जस्ता राइड सेयरिङ प्लेटफर्महरूले सुविधाजनक, किफायती र पारदर्शी यातायात सेवा प्रदान गरेर लाखौँ नागरिकको जीवन सहज बनाएका छन्।
यी सेवाहरूले विशेष गरी काठमाडौँ, ललितपुर, पोखरा जस्ता सहरमा दैनिक यातायातको अभाव र जटिलताबाट मुक्ति दिलाएका छन्। समयको बचत, निश्चित भाडादर, डिजिटल भुक्तानी र सुरक्षित यात्राको ग्यारेन्टीले यस्ता सेवालाई उपभोक्तामाझ लोकप्रिय बनाएको छ ।
तर, पछिल्लो समय यस्ता सेवामाथि बारम्बार हुने अराजकतावादी हडताल र अवरोधले जनजीवन प्रभावित भएको छ । यी हडतालहरूले न त कुनै रचनात्मक समाधानको बाटो देखाउँछन्, न त यातायात क्षेत्रको सुधारमा योगदान गर्छन् । बरु, यस्ता गतिविधिले सर्वसाधारणको आवागमनमा अवरोध पु¥याउँदै सामाजिक र आर्थिक गतिशीलतामाथि प्रश्न उठाइरहेको छ ।
छोटो तथा लामो दूरीका यातायात अवरुद्ध हुँदा सर्वसाधारण गम्भीर सास्तीमा परेका छन्। विद्यार्थी विद्यालय जान सकेका छैनन्, कर्मचारीहरू कार्यस्थल पुग्न सकेका छैनन्, बिरामी अस्पताल जान नपाएर ज्यानकै जोखिममा छन्। उद्योग–व्यवसायका सामग्री ढुवानी ठप्प हुँदा आर्थिक गतिशीलता समेत रोकिएको छ।
यस्ता सेवाहरूको सबैभन्दा ठूलो फाइदा भनेको रोजगारी सिर्जना हो। हजारौँ युवाहरूले राइड सेयरिङमार्फत स्वरोजगारीको अवसर पाएका छन्। विशेष गरी कोभिड–१९ महामारीपछिको आर्थिक मन्दीमा यस्ता प्लेटफर्महरूले धेरैका लागि आयआर्जनको बाटो खोले। साथै, महिलाहरूले पनि राइड सेयरिङमा चालकको रूपमा काम गरेर आर्थिक आत्मनिर्भरता हासिल गरिरहेका छन्। यी सेवाले परम्परागत ट्याक्सी र सार्वजनिक यातायातमा देखिने ठगी, असुरक्षा र अनियमितताको अन्त्य गर्न पनि महत्वपूर्ण भूमिका खेलेका छन्।
राइड सेयरिङ सेवालाई नियमन गर्नु आवश्यक छ, तर यो नियमन रचनात्मक र सहयोगी हुनुपर्छ। सरकारले राइड सेयरिङ कम्पनीहरू, चालकहरू र अन्य सरोकारवालाहरूसँग बसेर नीति निर्माण गर्नुपर्छ। यस्ता नीतिले राइड सेयरिङको फाइदा संरक्षण गर्दै चालक र यात्रुको हित सुनिश्चित गर्नुपर्छ। तर, हडताल र हिंसात्मक विरोधले कसैको भलाइ हुँदैन। यस्ता अराजक गतिविधिलाई तत्काल रोक्न सरकारले कडा कदम चाल्नुपर्छ।
नेपालको यातायात क्षेत्रलाई आधुनिकीकरण गर्न राइड सेयरिङ अपरिहार्य बनिसकेको छ। यो सेवाले सुविधा, रोजगारी र पारदर्शिता ल्याएको छ। विमानस्थलमा विदेशी यात्रुहरू र आम नागरिक अलपत्र परेका छन्। यो अवस्था अराजकतावादी शैलीमा लादिएको आन्दोलनको स्पष्ट परिणाम हो।
यो हडतालको अर्को विडम्बनापूर्ण पक्ष के छ भने, राइड सेयरिङ सेवा रोकिने अपेक्षामा गरिएको आन्दोलन उल्टै यिनै सेवाको माग र प्रयोगमा वृद्धि हुने दिशातर्फ गइरहेको छ। सार्वजनिक सवारी बन्द भएपछि नागरिकहरू विकल्पको खोजीमा राइड सेयरिङ प्लेटफर्महरूतर्फ आकर्षित भएका छन्। इनड्राइभ, पठाओ, टेक्सिफाइ जस्ता एपहरू प्रयोग गर्नेको संख्या तीव्र रूपमा बढेको छ। यसले राइड सेयरिङको व्यवहारिक आवश्यकता र सम्भावना अझ पुष्टि गरेको छ।
यसले के देखाउँछ भने, राइड सेयरिङ सेवा रोकिनुपर्ने होइन — अझ व्यवस्थित, सुरक्षित र कानुनी संरचनाभित्र विस्तार गर्नुपर्ने हो। यो नियमावलीले त्यही प्रयास गरेको छ । सवारीसाधनको बीमा, यात्रु सुरक्षाको प्रत्याभूति, तोकिएको शुल्क र संकेत प्रणालीजस्ता मापदण्डले राइड सेयरिङलाई अनियमित होइन, विधिवत् प्रणालीमा ल्याउने हो । अब प्रश्न सरकारतर्फ छ—कानुनी व्यवस्था कार्यान्वयन गर्ने कि अराजकतावादी हडतालको अगाडि घुँडा टेक्ने ? जनताको प्रश्न स्पष्ट छ !


