कर्मचारी सञ्चय कोषले साउन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक ब्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर परिवर्तन गरी नयाँ ब्याजदर निर्धारण गरेको छ ।
कोष सञ्चालक समितिको निर्णय बमोजिम यही २०८२ साल साउन १ गतेदेखि लागू हुने गरी कोषले सञ्चयकर्ताहरूलाई सञ्चय कोष रकम र निवृत्तिभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ५.०० निर्धारण गरिएको छ ।
यसै गरी, कोषले सञ्चयकर्ताहरूलाई प्रदान गर्ने सापटीहरूमा लिने ब्याजदरमध्ये विशेष सापटीमा ६.२५ प्रतिशत, घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७.२५ प्रतिशत र जग्गा खरिद सापटी तथा सरल सापटीमा ७.५० प्रतिशत निर्धारण गरिएको छ ।
विशेष सापटी बाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रूपमा चुक्ता गर्ने सञ्चयकर्ताहरूको हकमा ०.२५ प्रतिशतले छूट दिने व्यवस्था गरिएको छ । कोषले सञ्चयकर्ताहरूलाई घर निर्माण गर्न र घर तथा जग्गा खरिदका लागि रु. एक करोडसम्म र घर मर्मत गर्नका लागि रु. ३० लाखसम्म सापटी प्रदान गर्ने गरेको छ ।
यस्तै, कोषले सञ्चयकर्ता स्वयम वा पति/पत्नी वा छोरा/छोरीलाई उच्च शिक्षा अध्ययन गर्ने/गराउने प्रयोजनका लागि शैक्षिक सापटी रु. ४० लाखसम्म र सञ्चयकर्ताको सेवा अवधिमा भैपरी आउने कार्यका लागि दिइने सरल सापटी रु. ६० लाखसम्म प्रदान गर्दै आएको छ । साथै, कोषले सञ्चयकर्ताहरूको खातामा जम्मा भएको रकमको सुरक्षणमा ९० प्रतिशतसम्मको रकम विशेष सापटीको रूपमा प्रदान गर्ने गरेको छ ।
कोषबाट चालू आर्थिक वर्षमा १ लाख ५८ हजार ३४४ सञ्चयकर्ताले विशेष सापटी, १ लाख १४ हजार ४५६ सञ्चयकर्ताले कोष भुक्तानी, २ हजार ९२६ सञ्चयकर्ताले धितोमा आधारित सापटी, २५ हजार २९८ सञ्चयकर्ताले सामाजिक सुरक्षा सुविधा र १ हजार ७९१ सञ्चयकर्ताले योगदानमा आधारित निवृत्तिभरण भुक्तानी लिएका छन् ।


