रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३ हजार ९१५ जनालाई सरकारले मृत घोषणा गर्ने प्रक्रिया अघि बढाएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बेपत्ता व्यक्तिहरूलाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको समितिको ३८औँ बैठकले यस्तो निर्णय गरेको हो । मृत घोषणा गर्न सिफारिस गरिएकामध्ये ४८ जिल्लाबाट विवरण यकिन भई आएका ३ हजार २९२ जना नेपाली नागरिक र १९ वटा विदेशी नियोगबाट प्रमाणीकरण भएका ६२३ जना विदेशी नागरिक रहेका छन् ।
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था छ । सोही कानुनी व्यवस्थाअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मृत घोषणा गर्नुअघि दाबी विरोधका लागि प्रक्रिया अघि बढाएको थियो ।
स्वदेशी नागरिकको हकमा सम्बन्धित स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय तथा विदेशी नागरिकको हकमा सम्बन्धित मुलुकका नियोगबाट प्राप्त सूचीका आधारमा दुई चरणमा सातदिने सूचना प्रकाशित गरी दाबी विरोध माग गरिएको थियो ।
बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी तीनवटा राष्ट्रिय नीति तथा कार्ययोजना पनि स्वीकृत गरेको छ । सन् २०३० अर्थात् २०८७ सालसम्म देशका सबै समुदायमा प्रकोपको पूर्वसूचना पुर्याउने लक्ष्यसहित ‘सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र, २०८३–२०८७’ पारित गरिएको छ ।
त्यस्तै, ‘वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ एवं कार्ययोजना (२०८३/८४–२०९१/९२)’ र ‘वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना (२०८३–२०८७)’ पनि स्वीकृत भएका छन् ।
यसैगरी, विपद्को उच्च जोखिममा रहेका तीन जिल्लाका ११८ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न बैठकले स्वीकृति दिएको छ । निर्णयअनुसार डडेल्धुराको आलिताल गाउँपालिकाका भोका र माला गाउँका २४ तथा बलौचा गाउँका २२ घरधुरीलाई सुरक्षित स्थानमा सारिनेछ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित मुडुङ्गेका ४० घरधुरीलाई फुदवाङ र गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित देवलका ३२ घरधुरीलाई फिलिम गाउँमा स्थानान्तरण गरिनेछ ।


