सरकारले ई–कमर्स, बैंकिङ, डिजिटल भुक्तानी तथा सूचना प्रविधिमा आधारित सेवाहरूमा नागरिकको व्यक्तिगत विवरणको सुरक्षा सुनिश्चित गर्न वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ संशोधन गर्ने तयारी गरेको छ । सरकारले ऐनमा व्यापक संशोधन प्रस्ताव गर्दै डिजिटल सेवा प्रदायकलाई व्यक्तिगत सूचना संकलन, प्रशोधन, भण्डारण र प्रयोगमा थप जिम्मेवार बनाउने व्यवस्था अघि सारेको हो ।
अध्यादेशको प्रारम्भिक मस्यौदाका रूपमा तयार पारिएको संशोधन प्रस्तावले पहिलोपटक डिजिटल सेवा प्रदायकलाई ‘वैयक्तिक सूचना नियन्त्रक’ र ‘प्रशोधक’ का रूपमा परिभाषित गरेको छ । यससँगै बैंक, भुक्तानी सेवा प्रदायक, ई–कमर्स कम्पनी तथा अन्य डिजिटल संस्थाको डेटा सुरक्षासम्बन्धी कानुनी दायित्व र उल्लंघन गरेमा हुने सजायसमेत स्पष्ट पारिएको छ ।
विद्यमान ऐनको दफा २३ ले सरकारी अधिकारीबाहेक अन्य निकाय वा व्यक्तिलाई व्यक्तिगत सूचना संकलन तथा प्रशोधनमा कडा बन्देज लगाएको थियो । प्रस्तावित संशोधनले भने प्रचलित कानुनबमोजिम दर्ता वा अनुमतिपत्र प्राप्त डिजिटल सेवा प्रदायकलाई निश्चित कानुनी आधारमा सूचना प्रशोधन गर्न सक्ने व्यवस्था गरेको छ ।
तर, त्यस्ता संस्थाले प्रयोगकर्ताको स्वतन्त्र र सूचित मञ्जुरी, करार कार्यान्वयन वा कानुनी दायित्वजस्ता वैध आधारविना आवश्यकताभन्दा बढी व्यक्तिगत विवरण संकलन गर्न पाउने छैनन् । यसले डिजिटल सेवा प्रयोगका क्रममा ग्राहकबाट संकलन गरिने व्यक्तिगत विवरणको दुरुपयोग रोक्ने लक्ष्य राखेको छ ।
मस्यौदामा थपिएको दफा २५क र दफा २६ को संशोधनले ग्राहकको भुक्तानी इतिहास, कारोबार विवरण तथा अन्य व्यक्तिगत सूचना अनुमतिबिना तेस्रो पक्षलाई बिक्री वा हस्तान्तरण गर्न रोक लगाएको छ । त्यस्तै, ग्राहकको विवरण असम्बन्धित वस्तु तथा सेवाको प्रचार र प्रत्यक्ष बजारीकरणमा प्रयोग गर्नसमेत नपाइने प्रस्ताव गरिएको छ ।
ग्राहकले प्रचारप्रसारका लागि दिएको मञ्जुरी जुनसुकै समयमा फिर्ता लिन सक्नेछन् । मञ्जुरी फिर्ता लिएकै आधारमा सम्बन्धित संस्थाले अत्यावश्यक सेवा रोक्न वा सेवाबाट वञ्चित गर्न पाउने छैनन् । जानीजानी अनधिकृत रूपमा व्यक्तिगत सूचना बिक्री वा दुरुपयोग गरेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसका अतिरिक्त पीडितलाई वास्तविक हानि–नोक्सानीको क्षतिपूर्तिसमेत भराउनुपर्नेछ । कसूरबारे जानकारी पाएको मितिले तीन महिनाभित्र उजुरी दिन सकिने व्यवस्था पनि मस्यौदामा समेटिएको छ ।
त्यस्तै, डिजिटल प्रणालीमा हुने डेटा चुहावट (डेटा ब्रिच) का घटनामा सेवा प्रदायकलाई जवाफदेही बनाउने प्रस्ताव गरिएको छ । संरक्षित सूचनामा अनधिकृत पहुँच वा चुहावट भई व्यक्तिको अधिकारमा गम्भीर असर पर्न सक्ने अवस्था आएमा सम्बन्धित सूचना नियन्त्रकले घटना थाहा पाएको ७२ घण्टाभित्र अधिकारप्राप्त नियामक निकायलाई जानकारी दिनुपर्नेछ । प्रभावित व्यक्तिलाई पनि अनावश्यक विलम्ब नगरी सूचना दिनुपर्ने व्यवस्था गरिएको छ ।
नागरिकलाई आफ्नो व्यक्तिगत विवरण सच्याउने अधिकारसमेत प्रदान गरिएको छ । डिजिटल सेवा प्रदायकको प्रणालीमा रहेको गलत वा अपूर्ण विवरण सच्याउन अनुरोध गरेमा सम्बन्धित संस्थाले १५ कार्यदिनभित्र परीक्षण गरी आवश्यक संशोधन गर्नुपर्नेछ ।
प्रस्तावित दफा २५ख ले व्यक्तिगत सूचना नेपालबाहिर पठाउने अर्थात् सीमापार हस्तान्तरणका लागि स्पष्ट मापदण्ड तोकेको छ । व्यक्तिको मञ्जुरी, करार वा पर्याप्त सुरक्षा प्रत्याभूतिजस्ता आधारमा मात्र यस्तो हस्तान्तरण गर्न पाइनेछ । तर, कानुनले नेपालभित्रै भण्डारण गर्नुपर्ने भनी तोकेको सूचना विदेश पठाउन पाइने छैन ।
यसैगरी, नेपालमा रहेर विदेशी ग्राहकका लागि सेवा प्रदान गर्ने बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ), नलेज प्रोसेस आउटसोर्सिङ (केपीओ) तथा सूचना प्रविधि सेवा प्रदायकलाई वैध करारका आधारमा विदेशी ग्राहकको डेटा नेपालमा प्रशोधन गर्न सक्ने कानुनी संरक्षणसमेत प्रस्ताव गरिएको छ ।
संशोधन लागू भएपछि डिजिटल सेवा प्रदायकलाई नयाँ व्यवस्था र सुरक्षा मापदण्डअनुसार आफ्नो प्रणाली परिमार्जन गर्न ६ महिनाको संक्रमणकालीन अवधि दिइनेछ । साथै, दफा ३४क मार्फत सरकारी निकायबीच वैयक्तिक सूचना संरक्षणसम्बन्धी नीतिगत समन्वय गर्ने र आवश्यकताअनुसार भविष्यमा स्वतन्त्र नियामक निकाय स्थापना गर्न सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ । यसले नेपालको डिजिटल अर्थतन्त्र विस्तारसँगै व्यक्तिगत डेटा संरक्षणलाई कानुनी दायरामा ल्याउने अपेक्षा गरिएको छ ।


