छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्नो २५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सभा आउँदो पुस ६ गते आयोजना गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल २५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा ११.९६३१ प्रतिशत बोनस शेयर र १३.०३६९ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ ।
बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएको सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र त्यसमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।
सभाले अन्य वित्तीय संस्था तथा लघुवित्त संस्थासँग मर्जर तथा प्राप्तिका लागि उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने कार्य गर्ने अधिकार पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ । साथै, सो सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ ।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।


