बैंक तथा वित्तीय संस्थामा निक्षेप निरन्तर बढ्दै गए पनि कर्जा प्रवाहले अपेक्षित गति लिन नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था कायम रहेको छ । लगानीयोग्य रकम पर्याप्त हुँदासमेत कर्जाको माग विस्तार हुन नसकेपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट थप ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
केन्द्रीय बैंकले दुई महिनाका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो । यसका लागि राष्ट्र बैंकले शुक्रबार बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंसिर ११ गते जारी गरेको सूचनाअनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले शुक्रबार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सक्नेछन् । यस उपकरणको ब्याजदर भने बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ४० अर्ब रुपैयाँसम्म बोल गर्न सकिनेछ । बोल रकम १० करोड रुपैयाँले भाग जाने गरी प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ । सहभागी बैंक तथा वित्तीय संस्थाले एउटै वा फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोलसमेत पेस गर्न सक्नेछन् । यसरी संकलन गरिएको रकमको साँवा तथा ब्याज आगामी माघ १३ गते भुक्तानी हुनेछ । उक्त उपकरणमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन् ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८५ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । तर, सोही अवधिमा कर्जा प्रवाह भने ६१ खर्ब १८ अर्ब रुपैयाँमा सीमित छ । यसरी निक्षेप र कर्जाबीच २४ खर्ब १२ अर्ब रुपैयाँको अन्तर देखिएको छ । निक्षेपको तुलनामा कर्जा विस्तार कमजोर हुँदा बैंकिङ प्रणालीमा ठूलो परिमाणमा लगानीयोग्य रकम थुप्रिएको हो ।
कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूमा ७७ खर्ब १२ अर्ब रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थामा ८ खर्ब १८ अर्ब रुपैयाँ रहेको छ । वाणिज्य बैंकहरूले ५४ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ ।
बैंकिङ प्रणालीको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि ७१.१६ प्रतिशतमा सीमित छ । नियामकीय व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले अधिकतम ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न पाउँछन् । तर, कर्जाको माग कमजोर हुँदा बैंकहरूले आफ्नो उपलब्ध स्रोत पूर्ण रूपमा परिचालन गर्न सकेका छैनन् । यसले बैंकिङ प्रणालीमा थप कर्जा प्रवाह गर्न सक्ने पर्याप्त क्षमता रहे पनि लगानी विस्तार हुन नसकेको देखाउँछ ।
अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ । चालु आर्थिक वर्षको मंसिर ११ गतेसम्म राष्ट्र बैंकका ऋणपत्र, निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामा गरी कुल १३ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको रकम रहेको छ । त्यसमध्ये राष्ट्र बैंक ऋणपत्रमा ४ खर्ब रुपैयाँ, निक्षेप संकलन उपकरणमा ८ खर्ब ३५ अर्ब ७० करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामा १ खर्ब ४० अर्ब ३० करोड रुपैयाँ रहेको छ ।
उक्त अवधिमा राष्ट्र बैंकले सामान्य निक्षेप संकलन उपकरण २९ पटक प्रयोग गरी १ खर्ब ६८ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । त्यस्तै, स्थायी निक्षेप सुविधा ८० पटक प्रयोग गर्दै ९ खर्ब ६१ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । तरलता प्रवाह गर्ने रिपो, सोझै खरिद, ओभरनाइट रिपो तथा स्थायी तरलता सुविधामार्फत भने यस अवधिमा कुनै कारोबार भएको छैन ।
बैंकिङ प्रणालीमा रकम अभाव नभई अधिक तरलता रहेकाले राष्ट्र बैंकले बजारबाट रकम खिच्ने उपकरणलाई प्राथमिकता दिएको हो । यसको प्रभाव अन्तरबैंक ब्याजदरमा समेत देखिएको छ । पछिल्लो समय अन्तरबैंक ब्याजदर घटेर २.७५ प्रतिशतमा झरेको छ ।
बैंकहरूमा निक्षेप पर्याप्त भए पनि कर्जाको माग कमजोर रहँदा बैंकहरूबीचको अल्पकालीन सापटीको ब्याजदरसमेत न्यून भएको हो । पर्याप्त तरलता, घट्दो अन्तरबैंक ब्याजदर र कमजोर कर्जा विस्तारले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम परिचालन गर्न नसकिएको अवस्थालाई उजागर गरेको छ । यसले एकातिर बैंकहरूलाई कर्जा विस्तारका लागि पर्याप्त स्रोत उपलब्ध गराएको छ भने अर्कोतिर बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्नु राष्ट्र बैंकका लागि चुनौती बनेको छ ।


