Banijya News

1

नाइमा मोबिलिटी एक्स्पोमा झण्डै दर्जन बढी नयाँ मोडल सार्वजनिक हुँदै

160 Shares

यही साउन २१ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न ब्राण्डले दर्जन बढी नयाँ मोडल सार्वजनिक गर्ने तयारी थालेका छन् ।

करिब ५० स्टल रहने मोबिलिटी एक्स्पोमा चार पाङ्ग्रे ब्राण्डहरूको उल्लेखनीय सहभागिता रहनेछ । अहिलेसम्म कम्पनीहरूले दिएको जानकारी अनुसार करिब एक दर्जन नयाँ मोडल सार्वजनिक हुनेछन् ।

मोलिलिटी एक्स्पोमा ओमोडा/जेको ब्राण्डका दुई एसयूभी बिक्री सुरू हुनेछन् । एसपीजी अटोमोबाइल्स कम्पनीले अटो एक्स्पोमा जेको जे-फाइभ र भी-ट्वान्टीथ्री मोडल सार्वजनिक गर्नेछ । यी दुवै मोडल नेपाली बजारको लागि विल्कुलै नयाँ हुने छन् ।

एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले अटो एक्स्पोमा आइएम-सिक्स मोडल सार्वजनिक गर्नेछ । आइएम मोटर्सको उत्पादन नेपालमा एमजीकै शोरुममार्फत बिक्री हुनेछ । यसका अलावा पारामाउन्ट मोटर्सले माज्दाको नयाँ एसयूभी पनि अटो एक्स्पोमा देखाउने छ । त्यसको डिटेल भने बाहिर ल्याएको छैन ।

लक्ष्मी प्रिमियमले नयाँ ब्राण्ड फरथिङ लन्च गर्ने जनाएको छ । कम्पनीका अनुसार फरथिङ फ्राइडे मोडल अटो एक्स्पोमार्फत बजार प्रवेश गर्नेछ । लक्ष्मी ग्रुप अन्तर्गतकै हुन्डाईले के नयाँ देखाउँछ, अहिलेसम्म बाहिर ल्याएको छैन ।

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले पनि नाइमा मोबिलिटी एक्स्पो मार्फत नै सिलायन-सेभेनको बिक्री थाल्ने छ । अहिले ब्लाइन्ड बुकिङ चलिरहेको सिलायन-सेभेन एक्स्पोको लागि बीवाइडीको विल्कुलै नयाँ मोडल हो ।

महिन्द्राले एक साथ दुई इलेक्ट्रीक एसयूभी सार्वजनिक गर्दैछ । आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले बीई-सिक्स र एक्सईभी-नाइन ई मोडल बजारमा उतार्न लागेको हो ।

फक्सवागेनको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल नेपालले पनि नयाँ सेडान कार सार्वजनिक गर्दैछ । कम्पनीले भारतमा उत्पादन र बिक्री हुँदै आएको भर्टुस सेडान बिक्री थाल्न लागेको हो ।

प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पनि इमास-फाइभ ल्याउने प्रयास गरिरहेको छ । कम्पनीले सकेसम्म इमास-फाइभ ह्याचब्याक अटो एक्स्पोबाट प्रिमियर गर्ने योजना बनाएको हो ।

नेक्सन भेन्चर प्रालिले पनि एलईभी ब्राण्डको ह्याचब्याक कार नाइमा मोबिलिटी एक्स्पो मार्फत बिक्री थाल्दैछ । कम्पनीले ल्याउने एलईभी-०५ मोडलले बजारमा राम्रै प्रभाव पार्ने कम्पनीको दाबी छ । साथै, नेक्सन भेन्चरले एलईभी-०१ को अलह्वील ड्राइभ भर्सन एलईभी एक्स पनि अटो एक्स्पोमार्फत बिक्री थाल्दैछ ।

अहिले नेपालका सबै किसिमका सडकमा यसको परीक्षण भइरहेको कम्पनीले जनाएको छ । करिब १० हजार किलोमिटर परीक्षणपछि अटो एक्स्पो मार्फत बिक्री थाल्ने तयारी भइरहेको कम्पनीको भनाइ छ ।

साँग्रिला मोटर्सले पनि अटो एक्स्पोमा लीपमोटरको बी-टेन एसयूभी सार्वजनिक गर्दैछ । भर्खरै युरोपमा लन्च भएको बी-टेन यसअघि कम्पनीले ल्याएको सी-टेनभन्दा कम मूल्यमा उपलब्ध हुनेछ ।

नाइमा मोबिलिटी एक्स्पोमा कियाले पनि नयाँ एसयूभी ईभी-फाइभ देखाउने तयारी गरिरहेको छ । अहिले एक युनिट ईभी-फाइभ भन्सार बिन्दुमा आइपुगेको छ । त्यसैलाई ल्याएर एक्स्पो मार्फत सार्वजनिक गर्ने कन्टिनेन्टल ट्रेडिङले योजना बनाएको हो ।

Bottom Advertisement
Scroll to Top