नेपाल राष्ट्र बैंकले विभिन्न निर्देशन उल्लंघन गरेको भन्दै २ वाणिज्य बैंक र २ वित्त कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागले गत आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासिकमा गरेको सुपरिवेक्षणका आधारमा सिटिजन्स बैंक इन्टरनेसनल, एनआईसी एशिया बैंक, पोखरा फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई लिखित सचेत गराएको हो ।
राष्ट्र बैंकको विवरण अनुसार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नियामक निकायको निर्देशन विपरीत कार्य गरेको पाइएको जनाएको छ । बैंकले ब्याजदर अन्तर सम्बन्धी निर्देशन उल्लंघन गरेको, प्रमुख कार्यकारी अधिकृतको स्वार्थ बाझिने गरी सिटिजन्स फास्ट ट्रयाक लोन प्रवाह गरेको र आन्तरिक लेखापरीक्षणबाट कैफिययत देखिँदा देखिँदै पनि कर्जा स्वीकृत गरेको भन्दै लिखित सचेत गराएको हो ।
त्यस्तै कारबाहीमा पर्ने अर्काे वाणिज्य बैंक एनआईसी एशिया रहेको छ । उक्त बैंकले पनि आधार दर गणना गर्दा त्रुटि गरेको र निर्माणाधीन आयोजनाको धितोमा कर्जा प्रवाह गर्दा प्रक्रियागत त्रुटि गरेको पाइएको छ । बैकले ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौता पत्रमा कर्जाको प्रकार लागु हुने ब्याजदर, किस्ता सम्बन्धी व्यवस्था स्पष्ट रुपमा उल्लेख नगरेको पाइएको छ । राष्ट्र बैंकले कर्जाको भुक्तानी तथा वर्गीकरण व्यवस्थामा समेत स्पष्टता नभएको भन्दै बैंकलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार लिखित सचेत गराएको जनाएको छ ।
यस्तै ‘ग’ वर्गको वित्तीय संस्था पोखरा फाइनान्स कम्पनी लिमिटेडले अनिवार्य नगद मौज्दात कायम नगरेकोले कारबाही गरिएको छ । फाइनान्सले २७ माघ २०८१ देखि २३ चैत २०८१ सम्ममा न्यूनतम अनिवार्य मौज्दात कायम नगरेको पाइएपछि ३२ लाख ७७ हजार ६७६ रुपैयाँ जरिवान समेत गरिएको छ ।
यसैगरि गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड र यसका तत्कालीन सञ्चालक समितिका अध्यक्ष श्रीमान श्रेष्ठसहित ६ जनालाई पनि राष्ट्र बैंकले सचेत गराएको छ । उनीहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफ ५० को उल्लंघन गर्दै सञ्चालक र नातेदारलाई नै कर्जा प्रवाह गरेको पाएपछि संस्था र सञ्चालकहरुलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकले वित्तीय अनुशासन कायम गर्न र निर्देशनहरुको पूर्ण पालना गराउन नियमित रुपमा सुपरिवेक्षण गर्दै यस्ता कारबाही गर्दै आएको छ ।


