Banijya News

बैंकमा ८५ खर्ब निक्षेप, कर्जा विस्तार सुस्त: सरकारलाई २.९३ प्रतिशत ब्याजमै ऋण

1
1.0K Shares

नेपालको बैंकिङ प्रणालीमा निक्षेप बढ्दै गए पनि निजी क्षेत्रमा कर्जा विस्तार अपेक्षाअनुसार हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिँदा सरकारले आन्तरिक ऋण भने सस्तो ब्याजदरमा उठाउने अवसर पाएको छ । चालु आर्थिक वर्षमा सरकारले विकास ऋणपत्रमार्फत औसत २.९३ प्रतिशत ब्याजदरमा ऋण उठाएको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८५ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा भने ६० खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ । तीन महिनामा बैंक तथा वित्तीय संस्थामा २ खर्ब ३२ अर्ब ८९ करोड रुपैयाँ निक्षेप थपिँदा निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ८४ अर्ब १९ करोड रुपैयाँले मात्रै बढेको छ । यसअनुसार निक्षेप थपिएको रकमभन्दा कर्जा विस्तार ४८ अर्ब ७० करोड रुपैयाँ कम छ ।

वार्षिक बिन्दुगत आधारमा निक्षेप १३.७ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा ८.३ प्रतिशतले मात्रै बढेको छ । निक्षेपको तुलनामा कर्जा विस्तार सुस्त हुँदा बैंकिङ प्रणालीमा उपलब्ध स्रोतको प्रभावकारी परिचालनबारे प्रश्न उठेको छ । बैंकमा रकम थुप्रिँदै जाँदा उद्योग, व्यापार, कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन नसक्नु अर्थतन्त्रका लागि चासोको विषय बनेको छ । यद्यपि निक्षेप र कर्जाबीचको अन्तरलाई बैंकमा निष्क्रिय रहेको रकमका रूपमा बुझ्न मिल्दैन । बैंकहरूले तरलता व्यवस्थापन, अनिवार्य मौज्दात तथा सरकारी धितोपत्रलगायत अन्य क्षेत्रमा पनि रकम परिचालन गर्छन् ।

सरकारी ऋणपत्रमा पाँच गुणाभन्दा बढी आवेदन

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहेपछि सरकारले आन्तरिक ऋण सस्तो ब्याजदरमा उठाउन थालेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सरकारले १३ पटक विकास ऋणपत्र निष्कासन गरी १ खर्ब ३० अर्ब रुपैयाँ उठाउँदा ६ खर्ब ८८ अर्ब ९६ करोड २५ लाख रुपैयाँको बोल परेको छ । यो निष्कासन रकमको ५.३० गुणा हो । कुल आवेदनमध्ये प्रतिस्पर्धी बोलकबोलबाट ६ खर्ब ४४ अर्ब ५५ करोड र अप्रतिस्पर्धी बोलकबोलबाट ४४ अर्ब ४१ करोड २५ लाख रुपैयाँको प्रस्ताव परेको छ ।

विकास ऋणपत्रमा बढेको मागसँगै सरकारले तिर्नुपर्ने ब्याजदर पनि घटेको छ । चालु आर्थिक वर्षमा निष्कासन गरिएका विभिन्न अवधिका ऋणपत्रको औसत कटअफ ब्याजदर २.९३ प्रतिशत कायम भएको छ । १५ वर्ष अवधिको ऋणपत्रमा सबैभन्दा बढी ४.५० प्रतिशत र ६ वर्ष अवधिको ऋणपत्रमा सबैभन्दा कम २.३५ प्रतिशत ब्याजदर कायम भएको छ । पाँच वर्ष अवधिको ऋणपत्रमा सबैभन्दा बढी आकर्षण देखिएको छ । यस अवधिको १० अर्ब रुपैयाँ बराबरको ऋणपत्रका लागि ७३ अर्ब ७८ करोड रुपैयाँको आवेदन परेको थियो । यो निष्कासन रकमको ७.३८ गुणा हो ।

सरकारले आर्थिक वर्ष २०७९/८० मा विकास ऋणपत्र जारी गर्दा करिब ११ प्रतिशतसम्म ब्याज तिर्नुपरेको थियो । अहिले ब्याजदर उल्लेख्य रूपमा घटेको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता, कर्जाको कमजोर माग र सरकारी ऋणपत्रमा लगानीको प्रतिस्पर्धाले ब्याजदर घटाउन सहयोग गरेको देखिन्छ ।

सीडी रेसियो ७१.१६ प्रतिशतमा सीमित

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८५ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा कुल कर्जा प्रवाह ६१ खर्ब १८ अर्ब रुपैयाँ रहेको छ । कुल निक्षेपमध्ये वाणिज्य बैंकमा ७७ खर्ब १२ अर्ब र अन्य बैंक तथा वित्तीय संस्थामा ८ खर्ब १८ अर्ब रुपैयाँ छ । वाणिज्य बैंकले ५४ खर्ब ३८ अर्ब रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थाले ६ खर्ब ८० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंकिङ प्रणालीको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७१.१६ प्रतिशतमा सीमित छ । नियामकीय सीमाअनुसार ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था रहेकाले बैंक तथा वित्तीय संस्थासँग थप कर्जा प्रवाह गर्न सक्ने क्षमता छ । तर कर्जाको माग पर्याप्त नहुँदा उपलब्ध रकम लगानी हुन सकेको छैन । बैंकमा तरलता पर्याप्त रहेकाले अन्तरबैंक ब्याजदर पनि २.७५ प्रतिशतमा रहेको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न विभिन्न मौद्रिक उपकरण प्रयोग गरिरहेको छ । मंसिर ९ गतेसम्मको विवरणअनुसार राष्ट्र बैंकका ऋणपत्र, निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामा गरी १३ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको रकम बाँकी छ ।

चार खर्ब १० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य

सरकारले चालु आर्थिक वर्षमा ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । यसमध्ये विकास ऋणपत्रमार्फत ३ खर्ब, ट्रेजरी बिलमार्फत १ खर्ब ४ अर्ब, नागरिक बचतपत्रमार्फत ५ अर्ब र वैदेशिक रोजगार बचतपत्रमार्फत १ अर्ब रुपैयाँ उठाउने योजना छ । वार्षिक लक्ष्यअनुसार पहिलो त्रैमासमा १ खर्ब, दोस्रो त्रैमासमा ९३ अर्ब, तेस्रो त्रैमासमा १ खर्ब २० अर्ब र चौथो त्रैमासमा ९७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ ।

सरकारले चालु आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ । राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड र वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ । बजेट खर्च व्यवस्थापनका लागि २ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ वैदेशिक ऋण र ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने योजना छ । तर नयाँ आन्तरिक ऋणको ठूलो हिस्सा पुरानो ऋणको साँवा भुक्तानीमा खर्च हुनेछ । सरकारले २ खर्ब ४५ अर्ब ८९ करोड रुपैयाँ साँवा भुक्तानी गर्नुपर्ने भएकाले खुद आन्तरिक ऋण परिचालन १ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँमा सीमित रहनेछ ।

सार्वजनिक ऋण ३० खर्ब नजिक

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कात्तिक मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत हो । कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत छ । सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । बैंकिङ प्रणालीमा उपलब्ध रकमले सरकारी ऋण उठाउन सहज बनाए पनि निजी क्षेत्रमा कर्जा विस्तार कमजोर रहनुले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने चुनौती कायमै रहेको छ ।

1

Scroll to Top