जनकपुरधाम र भारतको अयोध्याबीच सञ्चालन हुने साप्ताहिक ‘सरयू-कमला’ एक्सप्रेस रेल सेवाको यात्रा मापदण्ड र टिकट रिजर्भेसन कार्यविधि तय भएको छ । भाडादर र बुकिङ प्रक्रिया टुंगिएपछि आगामी सातादेखि रेल नियमित सञ्चालनमा आउने बताइएको छ । तय गरिएको तालिकाअनुसार जनकपुरधामबाट अयोध्या जाने ट्रेन नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १ः१० बजे छुट्नेछ । रेल भारतीय समयअनुसार दिउँसो २ः१० बजे जयनगर पुग्नेछ । त्यहाँ सुरक्षा जाँचका लागि एक घण्टा रोकिने रेल सीतामढी हुँदै भोलिपल्ट बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्ने तालिका छ ।
त्यस्तै, अयोध्याबाट जनकपुरधाम आउने ट्रेन नम्बर १५५९६ प्रत्येक सोमबार भारतीय समयअनुसार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट छुट्नेछ । उक्त रेल मंगलबार बिहान ८ः३० बजे जयनगर पुग्नेछ । त्यहाँ दुई घण्टा विश्राम गरेपछि नेपाली समयअनुसार दिउँसो १२ः४० बजे जनकपुरधाम आइपुग्नेछ ।
नेपाली र भारतीय नागरिकले मात्र यात्रा गर्न पाउने
भारतीय रेलवेले तय गरेको कार्यविधिअनुसार हाललाई नेपाली र भारतीय नागरिकले मात्र यस रेलमा यात्रा गर्न पाउनेछन् । जयनगरमा तेस्रो मुलुकका नागरिकका लागि पूर्ण अध्यागमन कार्यालय नभएकाले यस्तो व्यवस्था गरिएको हो । यात्राका क्रममा नेपाली नागरिकले नागरिकता प्रमाणपत्र वा राहदानी अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ । भारतीय नागरिकले भने राहदानी वा मतदाता परिचयपत्र बोक्नुपर्नेछ । यात्रुले जयनगरमा टिकटमा उल्लेख भएको विवरणसँग मेल खाने सक्कल परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको छ । रेलको टिकट जनकपुरधाम रेलवे काउन्टर, भारतका रेलवे काउन्टर, आईआरसीटीसी वेबसाइट तथा आधिकारिक एजेन्टमार्फत लिन सकिनेछ । अनलाइन माध्यमबाट यात्राको ६० दिनअगाडिदेखि नै टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ ।
टिकटको भाडादर भने केही दिनभित्र सार्वजनिक गरिने बताइएको छ । भाडामा आधारभूत शुल्कका अतिरिक्त आरक्षण शुल्क, सुपरफास्ट शुल्क र जीएसटीसमेत समावेश हुनेछ । रेलमा कन्फर्म टिकट भएका यात्रुले मात्र यात्रा गर्न पाउनेछन् । टिकट हराएमा त्यसको प्रतिलिपि जारी नगरिने कार्यविधिमा उल्लेख छ ।
१७ डिब्बाको आधुनिक रेल
‘सरयू–कमला’ एक्सप्रेस आधुनिक एलएचबी श्रेणीका १७ डिब्बासहित सञ्चालन हुनेछ । रेलमा दुईवटा एसी टु–टायर, तीनवटा एसी थ्री–टायर, तीनवटा एसी थ्री–टायर इकोनोमी र सातवटा स्लिपर क्लासका डिब्बा रहनेछन् । यसका अतिरिक्त एउटा लगेज डिब्बा र एउटा पावर कार समावेश हुनेछ । रेलमा साधारण (जनरल) र फस्ट एसी श्रेणीका डिब्बा रहने छैनन् । वातानुकूलित श्रेणीका यात्रुलाई ओढ्ने–ओछ्याउने सामग्री उपलब्ध गराइनेछ भने स्लिपर क्लासमा यस्तो सुविधा नहुने जनाइएको छ ।
नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको यो रेल सेवाले जनकपुरधाम र अयोध्याबीचको आवागमन सहज बनाउने विश्वास गरिएको छ । विशेषगरी जनकपुरको जानकी मन्दिर र अयोध्याको राम मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीलाई यस सेवाले प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ ।


