प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने निर्णय प्रक्रियामा प्रधानमन्त्री कार्यालयको संलग्नताबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् । उनले आयोजनाका कर्मचारीलाई नियन्त्रणमा लिएर मानसिक दबाब दिइएको र पर्याप्त कानुनी आधारबिना ठेक्का रद्द गरिएको विषय गम्भीर रहेको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आङ्देम्बेले ठेक्का रद्द गर्ने अधिकार सरकारसँग भए पनि कानुनविपरीत काम गर्ने छुट कसैलाई नरहेको उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री कार्यालयका पदाधिकारीको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।
गत १७ कात्तिकमा कांग्रेसको आह्वानमा बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद् तथा संसदीय समितिका बैठक सञ्चालन गर्न माग गरेको थियो । सोही मागअनुसार मंगलबार बसेको सार्वजनिक लेखा समिति बैठकले सरकारलाई सात बुँदे निर्देशन जारी गरेको थियो । त्यसपछि आङ्देम्बेले आयोजनाको ठेक्का रद्द गर्ने निर्णय प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिका स्पष्ट हुनुपर्ने माग अघि सारेका हुन् ।
उनका अनुसार आयोजनाका कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक दबाब दिइएको विषयले सरकारी निर्णय प्रक्रिया र राज्य सञ्चालनको विधिमाथि नै प्रश्न उठाएको छ । कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय गराउन कसले निर्देशन दिएको हो भन्ने प्रश्नसमेत उनले उठाएका छन् ।
‘प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने यातना गृह ?’ भन्दै आङ्देम्बेले यस घटनाको जिम्मेवारी कसले लिने भन्नेबारे प्रधानमन्त्रीसँग जवाफ मागेका छन् ।
उनले ठेक्का रद्द गर्ने निर्णयको कानुनी आधार, त्यसमा प्रधानमन्त्री कार्यालयका पदाधिकारीको भूमिका र निर्णयबाट राज्यलाई हुन सक्ने आर्थिक क्षतिबारे स्पष्ट हुनुपर्ने बताएका छन् । ठेक्का रद्द गर्ने निर्णय प्रक्रियाको स्वतन्त्र छानबिन गरी दोषी देखिएकालाई जिम्मेवार बनाउनुपर्ने उनको माग छ ।
मंगलबारको सार्वजनिक लेखा समिति बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा सरकारको कार्यशैली, सार्वजनिक खरिद ऐनको पालना र राज्य शक्तिको प्रयोगबारे प्रश्न उठाएका थिए । समितिले आयोजनासम्बन्धी आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
सुनकोशी–मरिण डाइभर्सन आयोजना राष्ट्रिय गौरवको परियोजना हो । आयोजनाको मुख्य उद्देश्य मधेसका पाँच जिल्लाका करिब एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउनु र २८ मेगावाट विद्युत् उत्पादन गर्नु हो ।
आयोजनाअन्तर्गत १३ दशमलव ३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु भइसकेको अवस्थामा ठेक्का रद्द गर्ने सरकारी निर्णयले परियोजनाको काम प्रभावित हुन सक्ने चिन्ता आङ्देम्बेले व्यक्त गरेका छन् ।
उनले सरकारी निर्णय र प्रशासनिक हस्तक्षेपका कारण राष्ट्रिय गौरवको आयोजना प्रभावित हुन नहुने बताएका छन् । आयोजनाको ठेक्का रद्द गर्ने निर्णय प्रक्रियामा कानुनको पालना भए–नभएको र त्यसबाट राज्यलाई पर्ने आर्थिक दायित्वबारे निष्पक्ष छानबिन हुनुपर्ने उनको माग छ ।


