Banijya News

चार महिनामै निर्यातले नाघ्यो एक खर्ब ३४ अर्ब, छुर्पीदेखि गलैंचासम्म नेपाली उत्पादनको बजार विस्तार

1
1.0K Shares

नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा अझै न्यून रहे पनि निर्यात वृद्धिदरमा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामै नेपालको कुल वस्तु निर्यात १ खर्ब ३४ अर्ब रुपैयाँ नाघेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्म १ खर्ब ३४ अर्ब १४ करोड ५८ लाख २२ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको हो । यो गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा ४३.४८ प्रतिशतले बढी हो । गत वर्षको पहिलो चार महिनामा नेपालबाट ९३ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

निर्यातमा भएको यो वृद्धिमा प्रशोधित तेलजन्य वस्तुको योगदान सबैभन्दा ठूलो देखिएको छ । समीक्षा अवधिमा अर्जेन्टिना, ब्राजिललगायतका मुलुकबाट कच्चा सोयाबिन तेल आयात गरी प्रशोधनपछि भारत निर्यात गरिएको छ । चार महिनामा ६२ अर्ब ८१ करोड रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात भएकोमा प्रशोधित सोयाबिन तेल ६१ अर्ब ३४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । सोयाबिन तेल मात्रै कुल निर्यातको सबैभन्दा ठूलो हिस्सा ओगट्ने वस्तु बनेको छ ।

त्यस्तै, सनफ्लावर तेल र पाम आयलको आयात तथा प्रशोधनपछि हुने पुनः निर्यातले पनि नेपालको निर्यात वृद्धिमा योगदान पुर्‍याएको छ । यी तीन प्रकारका तेलजन्य वस्तुको निर्यात कुल निर्यातको ५१.३५ प्रतिशत रहेको छ । चार महिनामा मात्रै ६८ अर्ब ८८ करोड रुपैयाँ बराबरको तेलजन्य वस्तु निर्यात भएको तथ्यांक छ ।

तेलजन्य वस्तुपछि निर्यात सूचीमा कार्पेट, अलैंची, जुट, फेल्ट, औद्योगिक धागोलगायतका उत्पादन रहेका छन् । समीक्षा अवधिमा कार्पेट तीन अर्ब ८९ करोड, अलैंची तीन अर्ब ४४ करोड, जुट तीन अर्ब ३१ करोड, सनफ्लावर तेल दुई अर्ब ७० करोड, पाम आयल दुई अर्ब ६९ करोड, ऊनी तथा फेल्टजन्य वस्तु दुई अर्ब ५९ करोड र औद्योगिक धागो दुई अर्ब ३० करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

छुर्पी निर्यातबाट १ अर्ब ६४ करोड विदेशी मुद्रा

नेपाली पशुपालन र परम्परागत दुग्धजन्य उत्पादनमा आधारित छुर्पी पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट ८५९ टन अर्थात् आठ लाख ५८ हजार ८३४ केजी छुर्पी निर्यात भएको छ । यसबाट एक अर्ब ६४ करोड १५ लाख रुपैयाँ विदेशी मुद्रा भित्रिएको छ ।

नेपाली छुर्पीको सबैभन्दा ठूलो बजार अमेरिका बनेको छ । कुल निर्यातमध्ये अमेरिकाले मात्रै एक अर्ब ४२ करोड २१ लाख रुपैयाँ बराबरको छुर्पी खरिद गरेको छ । यो कुल छुर्पी निर्यातको करिब ८७ प्रतिशत हो । त्यस्तै, क्यानडाले १३ करोड ८२ लाख र बेलायतले दुई करोड ८३ लाख रुपैयाँ बराबरको छुर्पी खरिद गरेका छन् । जापान तथा युरोपेली मुलुकमा समेत नेपाली छुर्पीको बजार विस्तार भइरहेको छ ।

गलैंचाबाट चार महिनामै ४ अर्बभन्दा बढी व्यापार नाफा

नेपालको निर्यात व्यापारमा गलैंचा लामो समयदेखि स्थापित उत्पादन हो । नेपाली हातले बुनेका ऊनी गलैंचाको अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान छ । विशेषगरी अमेरिका, जर्मनी, बेलायत, फ्रान्स र अस्ट्रेलियामा नेपाली गलैंचाको माग रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले चार अर्ब ३६ करोड रुपैयाँ बराबरको गलैंचा निर्यात गरेको छ । सोही अवधिमा गलैंचाको आयात भने २४ करोड ७५ लाख रुपैयाँ मात्रै रहेको छ । यसअनुसार गलैंचा व्यापारबाट मात्रै चार अर्ब ११ करोड रुपैयाँ खुद व्यापार नाफा भएको छ ।

चार महिनामा करिब तीन अर्ब ९० करोड रुपैयाँ बराबरका हाते ऊनी गलैंचा निर्यात भएका छन् । नेपाली गलैंचाको उत्पादनमा स्थानीय सीप, श्रम र परम्परागत बुनाइ प्रविधिको प्रयोग हुने भएकाले यसले विदेशी मुद्रा आर्जनसँगै रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याउँदै आएको छ ।

त्यस्तै, नेपाली हस्तकलामा आधारित फेल्टजन्य वस्तुको निर्यात पनि उल्लेखनीय छ । भेडाको ऊनबाट तयार गरिने फेल्टका सजावटी सामग्री, उपहारका वस्तु तथा अन्य हस्तकलाका उत्पादन विदेशी बजारमा बिक्री भइरहेका छन् । चार महिनामा फेल्टजन्य वस्तुबाट दुई अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यसबाट करिब एक अर्ब ८० करोड रुपैयाँ व्यापार नाफा भएको छ ।

यसैगरी, ऊन तथा पश्मिनाका सल र स्कार्फ एक अर्ब ४९ करोड रुपैयाँ बराबरको निर्यात भएका छन् । क्यास्मिर स्वेटरको निर्यात पनि ८० करोड ३६ लाख रुपैयाँ पुगेको छ । यी उत्पादनले नेपाली हस्तकला तथा ऊनी उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा थप चिनाउन मद्दत गरेका छन् ।

अलैंची निर्यात तीन अर्ब ४४ करोड

कृषिजन्य वस्तुमा अलैंची नेपालको प्रमुख निर्यात उत्पादनमध्ये एक हो । पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अलैंचीको अन्तर्राष्ट्रिय बजारमा माग रहेकाले यसले लामो समयदेखि नेपालको निर्यात व्यापारमा योगदान दिँदै आएको छ ।

समीक्षा अवधिमा नेपालबाट दुई हजार २६६ टन अलैंची निर्यात भएको छ । यसको कुल मूल्य तीन अर्ब ४४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कालो तथा ग्रिन चियाको निर्यात करिब एक अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अदुवाको निर्यात पनि करिब ३० करोड रुपैयाँ बराबरको भएको छ ।

समग्रमा कफी, चिया तथा मसलासम्बन्धी समूहबाट पाँच अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यस समूहमा आयात घटाउँदा नेपाल करिब एक अर्ब ६० करोड रुपैयाँ व्यापार नाफामा रहेको छ ।

धागो, वनस्पतिजन्य उत्पादन र जडीबुटीको पनि योगदान

नेपालका औद्योगिक उत्पादनले पनि निर्यात व्यापारमा योगदान पुर्‍याउँदै आएका छन् । विशेषगरी पोलिएस्टर तथा एक्रेलिक धागोको निर्यात उल्लेखनीय रहेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले पाँच अर्ब ५५ करोड रुपैयाँ बराबरको पोलिएस्टर तथा एक्रेलिक धागो निर्यात गरेको छ । यस समूहमा आयात घटाउँदा नेपाल करिब दुई अर्ब २१ करोड रुपैयाँ व्यापार नाफामा रहेको छ ।

वनस्पतिजन्य उत्पादन पनि नेपालको निर्यातका महत्त्वपूर्ण आधार बनेका छन् । कत्था, अम्रिसोको कुचो, लोक्ता तथा अर्गेलीजस्ता वस्तुको निर्यातबाट चार महिनामा एक अर्ब ३७ करोड रुपैयाँ आम्दानी भएको छ । यस समूहबाट करिब एक अर्ब ३२ करोड रुपैयाँ व्यापार नाफा भएको छ ।

त्यस्तै, उच्च मूल्यको हिमाली जडीबुटी यार्चागुम्बा पनि विदेशी बजारमा निर्यात भइरहेको छ । समीक्षा अवधिमा २१९ केजी यार्चागुम्बा निर्यात हुँदा १३ करोड ७७ लाख रुपैयाँ विदेशी मुद्रा भित्रिएको छ ।

त्यस्तै, पूर्वी तराईमा सञ्चालित जुट उद्योगबाट उत्पादित बोरा, सुतली तथा कपडाको निर्यात पनि उल्लेखनीय छ । चार महिनामा तीन अर्ब ७३ करोड रुपैयाँ बराबरका जुटजन्य वस्तु निर्यात भएका छन् । यसबाट करिब ७९ करोड २५ लाख रुपैयाँ व्यापार नाफा भएको छ ।

यसका अतिरिक्त प्लाइउड, औषधि, आँखाको लेन्सलगायतका उत्पादनले पनि नेपाली निर्यातको दायरा फराकिलो बनाउँदै लगेका छन् ।

पहिलो चार महिनाको निर्यात तथ्यांकले नेपालसँग अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सक्ने उत्पादनको विविधता रहेको देखाएको छ । छुर्पी, गलैंचा, अलैंची, पश्मिना, फेल्ट, जुट, औद्योगिक धागो, प्लाइउड, औषधि तथा आँखाको लेन्ससम्मका उत्पादनले नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजार विस्तारको सम्भावना देखाएका छन् ।

तर, कुल निर्यातमा प्रशोधित सोयाबिन, सनफ्लावर र पाम तेलको हिस्सा आधाभन्दा बढी हुनु र त्यसको ठूलो हिस्सा आयातित कच्चा पदार्थमा निर्भर रहनुले नेपालको निर्यात व्यापार अझै सीमित आधारमा टिकेको देखाउँछ । त्यसैले, निर्यात वृद्धिलाई दिगो बनाउन स्वदेशी उत्पादनको मात्रा र गुणस्तर बढाउनु आवश्यक देखिन्छ ।

कृषि तथा वनजन्य उत्पादनको व्यावसायिक खेती, पशुपालनको आधुनिकीकरण, औद्योगिक प्रशोधन क्षमता विस्तार र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगको विकासले निर्यातको आधार बलियो बनाउन सक्छ ।

उत्पादनमा निरन्तरता र बजारको मागअनुसार आपूर्ति व्यवस्थापन गर्न सके नेपालले आयातित कच्चा पदार्थमा आधारित पुनः निर्यातभन्दा स्वदेशी उत्पादनबाट विदेशी मुद्रा आर्जन गर्ने क्षमता विस्तार गर्न सक्ने देखिन्छ ।

1

Scroll to Top