Banijya News

1

गत आवमा भित्रिए एघार हजार बढी विद्युतीय कार, सबैभन्दा धेरै कुन् ?

160 Shares

आर्थिक वर्ष २०८१/८२ भित्र ११ हजार ९५२ युनिट विद्युतीय कार आयात भएका छन् । यत्रो आयातमा सबैभन्दा धेरै युनिट आयात भएका मोडलहरू कुन कुन होलान् भन्ने जिज्ञासा धेरैको पाइन्छ ।

गत आर्थिक वर्षमा नेपाली बजारमा धेरै ईभी बिक्री गर्ने कम्पनीहरूमा साइमेक्स इंक, एमएडब्लू ग्रुप, सिप्रदी जस्ता कम्पनी छन् । यी कम्पनीले ल्याएको ईभीहरू नै धेरै आयात हुनेमा परेका छन् ।

खासगरी धेरै आयात भएका ५ मोडलमा तीन एसयूभी छन् । दुई मोडल भने ह्याचब्याक सेग्मेन्टमा उपलब्ध हुन् । ह्याचब्याक सेग्मेन्टमा नामी-०१ र बीवाइडी डल्फिन पर्दा, एसयूभी सेग्मेन्टमा एमजी एस-फाइभ, बीवाइडी एटो-थ्री र टाटा पन्च पर्न सफल भएका छन् ।
१. बीवाइडी डल्फिन
साइमेक्स इंकले बिक्री गर्ने डल्फिन मूल्यकै कारण हिट भएको प्रोडक्ट हो। आकर्षक मूल्यसँगै दमदार फिचर यसको अर्को बलियो पक्ष हो। ४५ किलोवाट आवरको ब्याट्री प्याक र ७० किलोवाट क्षमताको मोटरसहित बजारमा आएको डल्फिन नेपाली ग्राहकको रोजाइमा परिरहेको छ।

२. एमजी एस-फाइभ
आयातको आधारमा दोस्रो स्थानमा एमजी एस-फाइभ परेको छ। फेब्रुअरीदेखि उपलब्ध यो मोडल गत आर्थिक वर्षमा १ हजार ५२ युनिट आयात भएको छ। पारामाउन्ट मोटर्सले ४३ लाख ९९ हजारदेखि ५४ लाख ९९ हजार रुपैयाँसम्म मूल्य तोकेर बिक्री गर्दै आएको एस-फाइभमा रियर ह्वील ड्राइभ मोटर, इन्डिपेन्डेन्ट सस्पेन्स र इनब्यूल्ट एपजस्ता फिचर छन्। ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर र ४९ तथा ६२ किलोवाट आवर ब्याट्री अप्सनले ग्राहकको आवश्यकता पूरा गर्छ।

३. बीवाइडी एटो-थ्री
साइमेक्स इंकले बिक्री गर्दै आएको बीवाइडी एटो-थ्री तेस्रो स्थानमा पर्न सफल भएको छ। सुपेरियर र एड्भान्स गरी दुई भेरियन्टमा उपलब्ध यो एसयूभीको १ हजार ३० युनिट गत आर्थिक वर्षमा नेपाल आयात भएको थियो। १०० किलोवाट क्षमताको मोटर र ४९ तथा ६० किलोवाट आवर ब्याट्री अप्सनमा उपलब्ध एटो-थ्री ५६ लाख ९० हजारदेखि ६७ लाख ८० हजार रुपैयाँ मूल्यमा पाइन्छ।

४. नामी-०१
डोङफेङ नामी-०१ एमएडब्ल्यू वृद्धिले नेपाल ल्याएको मोडल हो। ह्याचब्याक सेग्मेन्टमा पर्ने यो चार मिटर लामो ईभी गत आर्थिक वर्षमा १ हजार १७ युनिट आयात भएको भन्सार तथ्यांकले देखाएको छ। सुरुमा ७० किलोवाट क्षमताको मोटरसहित आएको यो मोडल पछिल्लो समय ५० किलोवाट मोटरमा पनि उपलब्ध छ। यसको मूल्य ३० देखि ३५ लाख रुपैयाँसम्म तोकिएको छ।

५. टाटा पन्च ईभी
सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको टाटा पन्च टप फाइभमा पाँचौँ स्थानमा पर्न सफल भएको छ। कम्पनीले एक वर्षभन्दा कम अवधिमा ८५० युनिट पन्च ईभी नेपाल ल्याएको छ। स्मार्ट डिजाइन, उच्च ग्राउण्ड क्लियरेन्स र एसयूभीको अनुभव दिन सक्ने क्षमताकै कारण पन्च सफल मोडल मानिन्छ। टप भेरियन्ट ३९ लाख ९९ हजार रुपैयाँ र इन्ट्री भेरियन्ट ३४ लाख ९९ हजार रुपैयाँ मूल्यमा उपलब्ध छ। यसमा ३५ किलोवाट आवरको प्रिज्मेटिक ब्याट्री र ९८ किलोवाटको मोटर पाउन सकिन्छ।

Bottom Advertisement
Scroll to Top