गत आर्थिक वर्ष २०८१/८२ मा कुल ४३ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ बराबरको विद्युती सवारी साधन आयात भएको छ ।
भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष ४४ हजार ५३५ युनिट विद्युतीय सवारी (स्कुटर, मोटरसाइकल, थ्री ह्वीलर, बस, माइक्रोबस, कार, जीप, भ्यान) आयात भएका हुन् । त्यसबापत सरकारले कुल २२ अर्ब ७६ करोड रुपैयाँ राजस्व पाएको छ ।
गत आवमा सबैभन्दा धेरै १६ हजार ५०५ युनिट इलेक्ट्रीक थ्री ह्वीलर आयात भएको छ । जसमा ९ हजार ७२८ युनिट तयारी र ६ हजार ७७७ युनिट अनएसेम्बल्ड रहेको छ । गत आवमा कुल १ अर्ब ६८ करोड रुपैयाँ बराबरको इलेक्ट्रीक थ्री ह्वीलर आयात भएको हो ।
त्यस्तै, गत आवमा दोस्रो धेरै विद्युतीय कार, जीप, भ्यान आयात भएको छ । ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरको १३ हजार ५७८ युनिट विद्युतीय कार, जीप भ्यान आयात भएको छ । यसबापत सरकारले १९ अर्ब ७० करोड रुपैयाँ राजस्व पाएको छ ।
गत वर्ष सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट मोटर क्षमताका ७ हजार ४३१ युनिट विद्युतीय कार, जीप, भ्यान आयात भएको विभागको तथ्यांक छ । त्यस्तै, ५० किलोवाटसम्मको ४ हजार ७३२ युनिट, १०१ देखि २०० किलोवाटसम्मको १ हजार ३६२ युनिट, २०१ देखि ३०० किलोवाटसम्मको ४२ युनिट र ३०० किलोवाट माथिको २ युनिट कार, जीप भ्यान आयात भएको छ ।
त्यसैगरी, गत वर्ष ४ अर्ब ३९ करोड रुपैयाँ बराबरको ११ हजार ३१९ युनिट विद्युतीय मोटरसाइकलरस्कुटर आयत भएको छ । यसबापत सरकारले साढे ३७ करोड रुपैयाँ राजस्व पाएको छ ।
गत आवमा ९ अर्ब ४८ करोड रुपैयाँ बराबरको ३ हजार १३२ युनिट विद्युतीय माइक्रोबस र बस आयात भएको छ । जसमा ११ देखि १४ सिटसम्मको १ हजार ८३०, १५ देखि २५ सिटसम्मको १ हजार २६० युनिट र १६ युनिट बस रहेको छ । विद्युतीय माइक्रोबस र बस आयात बापत सरकारले २ अर्ब १० करोड रुपैयाँ राजस्व पाएको छ ।