नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको चलचित्रल ‘ए मेरो हजुर ४’ले बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ । झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’ले प्रदर्शनको ३ दिनको कलेक्सन देशभरबाट २ करोड ५० लाख माथि गरेको छ ।
पहिलो दिन, देशभरबाट ८८ लाख कलेक्सन गरेको चलचित्रले प्रदर्शनको दोस्रो दिन ६६ लाख र तेस्रो दिन ८९ लाख कलेक्सन गरेको चलचित्र वितरक गोविन्द शाहीले बताए ।
आलोचनासहित प्रदर्शनमा आएको यो चलचित्र प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘केजिएफ-२’ सँग जोध्नु पर्यो । राम्रो प्रचारसहित प्रदर्शनमा आए पनि चलचित्रलाई प्रदर्शकले हेपाहा प्रवृति देखाए । विभिन्न हलवालाहरुले पाइरहेको शो घटाइदिए । सुरुमै ‘केजिएफ-२’ले भन्दा ‘ए मेरो हजुर ४’ले निकै थोरै शो पाएको थियो ।
चलचित्र ‘ए मेरो हजुर ४’मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारले अभिनय गरेका छन् । त्यस्तै, सुनिल कुमार थापाले निर्माण गरेका हुन् । साथै, संवाद तथा पटकथा लेखनमा निर्देशक थापालाई स्व निर्देशक छेतेन गुरुङले साथ दिएका छन् ।